
संघीय संसद भवन नयाँबानेश्वरमा आइतबार बसेको संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद । यस वर्षको संघीय संसदको हिउँदे अधिवेशन आज अन्त्य भएको छ । तस्वीर- रासस
काठमाडौँ, १० चैत – गत पुस ११ गते प्रारम्भ भई आज चैत १० गतेसम्म जम्मा ८९ दिन चालू रहेको सङ्घीय संसद्को तेस्रो अधिवेशन आज अन्त्य भएको छ । यस अवधिमा प्रतिनिधिसभामा जम्मा २३ वटा सरकारी विधेयक दर्ता भएकामा आठ विधेयकसभामा प्रस्तुत हुन बाँकी रहेका छन् ।
सात विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने दुईमाथि राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको सभामुख कृष्णबहादुर महराले जानकारी गराउनुभयो । अन्य छ विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भइसकेको छ । साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न सात विधेयकमध्ये चार विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने दुई विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको र एक विधेयक राष्ट्रियसभामा विचाराधीन रहेको अवस्था छ ।
सभाको विभिन्न बैठकमा सडक दुर्घटना रोक्न कदम चाल्नुपर्नेसम्बन्धी र छाउपडीप्रथाको अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नुपर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावउपर छलफल भई सम्बन्धित मन्त्रीबाट जवाफ दिने कार्य सम्पन्न भएको थियो ।
गत माघ ४ गतेको बैठकमा प्रारम्भ भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रममा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिने कार्य भएको थियो । साथै सभाको विभिन्न बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट दिइएको थियो । त्यस्तै विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भई सदनमा प्रस्तुत गर्न बाँकी रहेका मौखिक एवं लिखित उत्तरसमेत टेबुल भएका छन् ।
सभाको बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदन पेश गर्ने कार्य सम्पन्न भएको सभामुखले बताउनुभयो । यस अधिवेशन अवधिभर पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर, मोतिदेवी थारु, कमलादेवी शर्मा, रवीन्द्रप्रसाद अधिकारी, भरतमोहन अधिकारी, गणेश पण्डित र जीतबहादुर पुरीको निधन भएकामा शोक प्रस्ताव पारित भएका छन् ।
यसै अवधिमा सदनको विभिन्न बैठकमा प्रधानमन्त्रीले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनका बारेमा, गृहमन्त्रीले नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौताका विषयमा र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सम्बन्धमा सार्वजनिक महत्वको वक्तव्य दिनुभएको थियो ।
यसअघि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका नेताले अधिवेशन समापनका अवसरमा मन्तव्य दिनुभएको थियो । त्यस्तै सभामा प्रस्तुत हुन नसकेको लिखित एवं मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिएको थियो । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त संसद् अधिवेशन अन्त्य हुनेसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य
राष्ट्रियसभाको चालु हिउँदे अधिवेशन आजदेखि समापन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चालू हिउँदे अधिवेशन समापन भएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बैठकमा पढेर सुनाउनुभयो । बैठकमा अध्यक्ष तिमिल्सिनाले तेस्रो अधिवेशन अवधिभर भएका बैठक र काम कारवाहीबारेमा जानकारी गराउँदै ८९ दिन बैठक बसेको र विभिन्न १२ विधेयक पारित भएको बताउनुभयो ।
यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भएको सन्देशसहित प्रतिनिधिसभामा पठाइएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट पारित भई आएको सन्देश बैठकसमक्ष जानकारी गराउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय