काठमाडौँ, ६ चैत – प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु आपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवं हर्षोल्सपूर्वक मनाइयो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । यो पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ । केही वर्षअघि सम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने फागु प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुन थालेको छ ।
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाउँछन् ।
उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

काठमाडौँको त्रिचन्द्र क्यापसका विधार्थीहरु होलीमा रमाउँदै । तस्वीर – चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए । आगोले छुन नसक्ने वरदान पाए पनि त्यसको प्रयोग गलत रुपमा गरेपछि होलिका आफैं भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले नछाएको पौराणिक कथा फागु पर्वसँग जोडिएको छ ।
त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु (होली) खेल्ने परम्परा चलेको मानिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको विश्वाससमेत छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा बिहीबार होली मनाइँदै छ । तराईका जिल्लामा बिहीबार सार्वजनिक बिदा दिइएको छ ।
रैथाने संस्कृति जोगाउन फागु
फागु पूर्णिमाका अवसरमा सहृदयता समाज नेपालले ‘सहृदयता होली कार्यक्रम’ आयोजना गरयो ।
कार्यक्रमको मुख्य आकर्षण मौलिक साङ्गीतिक प्रस्तुति रहेको समाजका अध्यक्ष बलराम प्रजापतिले बताउनुभयो । मैथिली, भोजपुरी, थारू, नेपाल भाषा र नेपाली भाषामा कलाकारहरुले होली विशेष प्रस्तुति गरिएको थियो । समाज, युग निर्माण महिला समाज नेपाल र मैथिल युवा क्लबको संयुक्त आयोजनामा कार्यक्रम नयाँ बानेश्वर शान्तिनगरस्थित ॐ शान्ति चोकमा सम्पन्न गरिएको हो । नेपालको रैथाने संस्कृति संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा