सिके राउत गठबन्धको नाम- जनमत पार्टी

नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच काठमाडौँमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल …प्रचण्ड’को उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका संयोजक चन्द्रकान्त( सिके) राउत ११ बुँदे सहमतिपत्रमा हस्ताक्षरपछि पत्र आदान प्रदान गर्दै । तस्वीर- चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस

लहान, ४ चैत – सरकारसँग भएको ११ बुँदे सहमतिपछि पहिलो पटक बसेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।

सिरहाको लहानमा दुई दिनसम्म चलेको पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो । यसअघि राउत समूह ‘स्वतन्त्र मधेश गठबन्धन’का नाममा सक्रिय थियो ।

बैठकपछि पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले आज जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीका अध्यक्ष सिके राउतलाई चयन गरेको उल्लेख छ । पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहनेछ । पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रिपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै चुनाव चिह्नमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिने जनाएको छ ।

बैठकले सरकारसँग भएको सहमतिअनुरुप स्वतन्त्र मधेश गठबन्धनका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनका लागि पहल गर्न चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय सहमति कार्यान्वयन समिति गठनसमेत गरेको छ ।

पार्टीको गठनसँगै जनमत जुटाउन जनतामा जाने र जनताबाटै संवैधानिक रुपमा जनताको समस्या, माग हकहित र अधिकारका लागि अनवरत रुपमा समर्पित र निःस्वार्थ रुपमा सङ्घर्ष गर्ने प्रतिबद्धता बैठकमा जाहेर भएको विज्ञप्तिमा उल्लेख छ ।

दुई साताअघि सरकारसँग ११ बुँदे समझदारी भएपछि सिके राउत मूलधारको राजनीतिमा आएका थिए ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री