रुपन्देही , ३ चैत – प्रदेश ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ । सिद्धार्थ राजकुमारको जन्ममूमि लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्विक र ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण, सम्वर्धन तथा व्यवस्थापनमा टेवा पुरयाउन प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गरेको हो । मन्त्रिपरिषद्ले कार्यक्रम स्विकृत गरेसँगै भ्रमण वर्षको तयारी शुरु गरिएको हो ।
आउँदो बुद्ध पूर्णिमाका दिन भव्य समारोह गरी भ्रमण वर्षको आरम्भ गरिने छ । कार्यक्रमका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भ्रमण वर्षका क्रममा लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेहरुलाई समेटेर प्रवर्धनात्मक कार्यक्रमहरु गरिने छ । भ्रमण वर्षका क्रममा मायादेवी प्रसूतिमार्ग घोषणा एवं प्रसूति उत्सव गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
यस्तै, लुम्बिनी फुड फेस्टिवल, सुजाता खीर उत्सव, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फुल मून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, पूजाआजा, योग तथा ध्यान शिविर र सडक प्रदर्शनीको आयोजना गरिने छ ।
भ्रमण वर्ष सफल बनाउन झण्डा निर्माण गरिनाका साथै स्टिकर, ब्रोसर, होर्डिङ बोर्ड लगायतका सामग्रीहरु बनाएर प्रचारप्रसार गरिने छ । भगवान् बुद्धबारेको सडक प्रदर्शनी, बुद्ध सर्किट, लुम्बिनी प्रवेश नाकाको सरसफाइ, निबन्ध लेखन र साहित्य प्रतियोगिता आयोजना गरिने जानकारी मन्त्रालयले दिएको छ ।
यसैगरी, विश्व शान्ति सुमधुर साँझ, पथप्रदर्शक तथा स्वयंसेवक तालीम, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रमहरु तय गरिएका छन् । भ्रमण वर्ष अवधिभर विभिन्न कार्यक्रम गरी लुम्बिनीमा पर्यटकको सङ्ख्या बढाउने योजना पर्यटन मन्त्रालयको छ । बुद्धसँग सम्बन्धित सडक प्रदर्शनी नेपालका ७ वटै प्रदेशमा र पर्यटन व्यवसायीसँगको सहकार्यमा बुद्धको महिमा गाँसिएको भारतका कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा पनि प्रदर्शन गर्ने कार्यक्रम छ ।
कार्यक्रमका लागि पर्यटन मन्त्रालयले ४ करोड १९ लाख ६० हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । प्रस्तावित बजेटलाई आर्थिक मामिला मन्त्रालयबाट रकमान्तर गरेर व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ । प्रदेश ५ सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार छुट्याइएको बजेटमध्ये २ करोड २७ लाख ९० हजार रुपैयाँ चालू आर्थिक वर्षमै खर्च हुनेछ ।
प्रस्तावित खर्चअनुसार उद्घाटन कार्यक्रममा ७० लाख र समापनमा १५ लाख रुपैयाँ खर्च हुनेछ । भ्रमण वर्षको प्रचारप्रसारका लागि १ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । ब्राण्डिङ, लोगो, जिंगल, वेबपेजका लागि ६ लाख रुपैयाँ छुट्याइएको छ भने सञ्चारमाध्यमहरु मार्फत प्रचारप्रसार गर्न ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
लुम्बिनी भ्रमण वर्ष मनाउन एकसय फुट अग्लो राष्ट्रिय झण्डा निर्माण, भ्रमण वर्ष अवधिभर मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र लुम्बिनी–तिलौराकोट सडकलाई मायादेवी प्रसूति मार्ग घोषणा गरिने छ ।
बुद्ध सर्किटका विभिन्न स्थान तथा लुम्बिनी प्रवेशका विभिन्न नाकाहरूको सरसफाइ, डष्टबिन खरिद र बेलहिया–भैरहवा दीपमाला जडानका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ ।
प्रदेश सरकारले तय गरेको बजेट तथा कार्यक्रममा खेलकूद, साहित्य, संस्कृति तथा क्षमता विकास कार्यक्रमहरु समाविष्ट छन् । भ्रमण वर्षको सिलसिलामा आयोजना गरिने बौद्ध विद्वानहरुको समागममा बौद्ध दर्शन र लुम्बिनीबारे कार्यपत्र प्रस्तुत गर्न मात्रै २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश ५ को समृद्धिको आधार पर्यटन भएकाले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । लुम्बिनी भ्रमण वर्षले अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको प्रचारप्रसार हुने र त्यसबाट आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नाका साथै पर्यटकको बसाइसमेत लम्बिने प्रदेश सरकारको विश्वास छ ।
बुद्ध जन्मस्थल र बुद्धपथसँग सम्बन्धित क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउने कार्यक्रम तय भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जीवन पाण्डेले बताउनुभयो । उहाँका अनुसार लुम्बिनीलाई केन्द्रमा राखेर भ्रमण वर्षको तयारी गरिएको छ ।
मन्त्रालयका सचिव धनञ्जय पौडेलले भ्रमण वर्ष पर्यटन प्रवर्धन र आर्थिक समृद्धिका लागि प्रसारमा महत्वपूर्ण साबित हुने बताउनुभयो । “प्रदेश ५ को पहिचान लुम्बिनी हो, यहीँबाट प्रदेशको समृद्धि सम्भव हुने ठानेर यसको प्रचार र विकासका लागि कार्यक्रम तयार गरेका हौं,” उहाँले भन्नुभयो – “त्यसका लागि वर्षभरि नै विभिन्न कार्यक्रम गरिने छ ।” लुम्बिनी भ्रमण वर्षले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई समेत सघाउ पुरयाउने सचिव पौडेलको विश्वास छ ।
लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्वर्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पुरयाउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले बताउनुभयो । उहाँले भन्नुभयो – “भ्रमण वर्षले विश्वको ध्यान लुम्बिनीमा तानिने छ ।”
भ्रमण वर्ष सफल बनाउन मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा ७१ सदस्यीय मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीको संयोजकत्वमा १३ सदस्यीय कार्यकारी समिति गठन गरी तयारी थालिएको छ ।
गौतम बुद्ध जन्मिएको पावन दिन वैशाख पूर्णिमामा आरम्भ भई भ्रमण वर्ष चैत पूर्णिमामा समापन हुनेछ । विश्व शान्तिको मुहान मानिने लुम्बिनीमा विश्वका ८७ देशका पर्यटकहरु वर्षेनी भ्रमण गर्न आउँछन् ।
लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङ्कअनुसार एक वर्षमा सरदर १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटकहरु लुम्बिनी भ्रमणमा आउने गर्छन् ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन