बुधबार, माघ १२ २०७८ | Wed, January 26, 2022
नेपालको समय: २२:२१ | UK Time: 16:36

अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

सुशील दर्नाल-सञ्चिता घिमिरे/रासस
२०७५ फागुन २३ गते २२:३६

काठमाडौँ, २३ फागुन – ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

दिवसलाई भव्यरुपमा सफल बनाउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समितिसमेत गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालय र गैरसरकारी संस्थाले समेत विभिन्न कार्यक्रम गर्ने भएका छन् । सरकार र विभिन्न राजनीतिक दलहरुले समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिरहेको अवस्थामा महिला र पुरुषको समान ज्याला वा समानताको रुपमा हेरिएको सो दिवसका अवसरमा देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

दिवसको अवसरमा विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरी तीनै तहका सरकार, संवैधानिक निकाय, नागरिक समाज, सङ्घ संस्था, विकास साझेदार सबैसँग समन्वय गरिएको छ, “अन्तर्राष्ट्रिय महिला दिवसका नाराहरु सामाजिक सचेतनामूलक सन्देश प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मार्च ८ का दिन बिहान नारा एसएमएस मोबाइल म्यासेज पठाउने व्यवस्थाका लागि नेपाल टेलिकमलाई पत्राचार गरिसकिएको छ”, सहसचिव शर्माले भन्नुभयो ।

महिला अधिकारकर्मी कला स्वर्णकारले महिला हिंसा अन्त्यका लागि भएका कानूनको प्रभावकारी कार्यान्यवनसँगै देशैभरि सचेतना कार्यक्रम फैलाउनुपर्नेमा जोड दिनुभयो । दिवस मनाउन तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने प्रयोजनार्थ रेडियो नेपालमार्फत् आह्वान गरिएको छ । सामाजिक सचेतना बढाउने उद्देश्यले महिला दिवसको नारा लेखिएको पिन तथा स्टिकरलाई यातायातको साधनमा राखी प्रसार सामग्रीको समेत निर्माण गरिएको छ ।

महिलाविरुद्ध हुने असमानता र भेदभावको व्यवहार, जहाँ महिलाबाट भएको श्रमको मूल्य र पुरुषको श्रमको मूल्यबीच भिन्नता अर्थात् महिलाको श्रमको ज्याला पुरुषको दाँजोमा न्यून भएको विषयलाई मध्यनजर गरी समान कामका लागि समान ज्याला, समानता, न्याय, सुरक्षा, शान्ति र विकासका लागि महिला सहभागिता प्रारम्भ गरिएको अभियानसँगै महिलाको मानव अधिकारप्रति ऐक्यबद्धता जाहेर गर्ने दिनको स्मरणमा हरेक वर्ष मार्च ८ का दिन विश्वभर महिला दिवस मनाइँदै आएको छ ।

सन् १७९२ मा मेरी विल्लिसटन काफ्टद्वारा लिखित ‘अ भेन्डिकेशन अफ द राईट अफ ओमन’ सम्बन्धी पुस्तकमा उल्लेखित विषयवस्तुले महिलाको अधिकार र लैङ्गिक समानताका लागि आधारशिला तयार गरेको देखिन्छ । महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट प्रारम्भ भएको मानी यस दिन चीन, ब्राजिल, डोमेनिकन गणतन्त्र, संयुक्त राज्य अमेरिकाका केही महिला मिलेर महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक असमानता हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए । सोही दिनको स्मरणमा प्रत्येक वर्ष मार्च ८ तारेखलाई अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो ।

त्यसपछि संयुक्त राष्ट्रसङ्घबाट महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्नेसम्बन्धी महासन्धि १९७९ जारी भएको र हालसम्म १८९ राष्ट्र यस महासन्धिको पक्ष राष्ट्र भएका छन् । यसैबीचमा चार वटा विश्व महिला सम्मेलन भइसकेको र १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनले लैङ्गिक विभेदका १२ वटा मुख्य सरोकारका क्षेत्र पहिचान गरेर सोही आधारमा नेपालको नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन भइरहेका छन् ।

प्रतिनिधिसभाका सांसद लक्ष्मी परियारले समृद्ध नेपाल निर्माण गर्ने हो भने सबैभन्दा पहिला मुलुकमा व्याप्त महिला हिंसा अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपालको संविधानको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । साथै समान अंशीय र वंशीय हकको व्यवस्था गरी लैङ्गिक समानताको सुनिश्चितता गरेको छ । महिला हिंसा अन्त्यका लागि संविधानमा व्यवस्था भएको अधिकारलाई कार्यान्वयन गर्नुपर्ने सांसद परियारको भनाइ छ ।

महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले महिला हिंसा अन्त्यलगायतका विषयमा समितिले गम्भीरताका साथ काम गरिरहेको छ भन्नुभयो । दिगो विकासको सूचीको लक्ष्य नं ५ मा लैङ्गिक समानता र बालिका सशक्तीकरण रहेको र उक्त लक्ष्य कार्यान्वयनका लागि सन् २०३० सम्मको कार्ययोजना बनाई कार्यान्वयन भइरहेको छ ।

विश्वभर सामाजिक जागरण ल्याउने उद्देश्यले मनाइने सो दिवस मनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको अध्यक्षतामा मूलसमारोह समिति र अन्य समितिसमेत गठन गरिएको छ । समितिको निर्णयले विभिन्न सचेतनामूलक तथा रचनात्मक कार्यक्रम आयोजना गरी देशैभरि मनाउने गरी आवश्यक समन्वय गरिएको मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

मन्त्रालयको आयोजनामा बिहान प्रभातफेरी कार्यक्रम गरिने र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यतामा राष्ट्रिय सभागृहमा मूल समारोहको कार्यक्रम आयोजनामा गरिएको छ । प्रभातफेरी बिहान भृकुटीमण्डपबाट शुरु भएर बागबजार, पुतलीसडक, पद्ममकञ्य क्याम्पस हुँदै पुनःभृकुटीमण्डपमा पुगेर समापन हुने छ । दिवस सफल बनाउन मन्त्रालयले सहयोगका लागि समेत सबैसँग आग्रहसमेत गरेको छ ।

महिलाको क्षेत्रमा सरकारको उल्लेख्य काम

सरकार गठन भएको एक वर्षभित्रमा महिलाको क्षेत्रमा उल्लेख्य काम भएको छ । नेपाल सरकारबाट प्रत्येक वर्षको नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको अभियान दिवसका रुपमा सञ्चालन गर्ने निर्णय भएको छ । देशैभरि २०७५ मङ्सिर ९ गतेदेखि २६ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसमेत सञ्चालन गरिएको थियो । लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जालको कार्यक्षेत्र, २०७५ कार्यान्वयनमा ल्याइएको छ । महिला हिंसाविरुद्ध हुने सबै प्रकारका हिंसा उन्मूलनसम्बन्धी महासन्धिको ७१ औँ अधिवेशनमा नेपालले पेस गरेको प्रतिवेदनका मुद्दाको सूचीको जवाफसहित सरकारको धारणा प्रस्तुत गरिएको छ ।

विसं २०७४ फागुन ३ गते सरकार गठन भएयता महिलालाई सामाजिक सुरक्षाको सुनिश्चितता प्रदान गर्दै त्यसको दायरालाई विस्तार गरेको छ । सरकारले महिला, बालबालिकासम्बन्धी छुट्टै अपराध तथा अनुसन्धानका लागि १४ भवन निर्माण सम्पन्न गरेको छ । त्यसैगरी लैङ्गिक हिंसा निवारणका लागि ६५ महिलालाई संस्थागत विकास पुनर्ताजगी प्रशिक्षण, ५० किशोरीको बहुआयामिक विकास कार्यक्रम रुपान्तरण प्रशिक्षण, १४ जनालाई छ महीने मनोसामाजिक विमर्शकर्तालगायतका तालीम प्रदान गरिएको छ ।

त्यसैगरी संस्थागत रुपमा हवाई उद्धार कार्यक्रम शुरु गरी हुम्ला र दोलखा जिल्लाको दुर्गम भेगका गर्भवती महिला र नवजात शिशुलाई उपचारका लागि हवाई उद्धार गरिको सहसचिव शर्माले जानकारी दिनुभयो ।

राष्ट्रपतिद्वारा महिला दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गर्नुभएको छ । उहाँले सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

“संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमकोसमेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ”, सन्देशमा भनिएको छ । उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

‘कलैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीद्वारा शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्नुहुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गर्नुभएको छ । परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पौराणिककालदेखि प्रचलित ‘यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता’ भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताउनुभएको छ ।

“तर नारीलाई पूजा गर्दा ईश्वर पनि खुशी हुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कूरीति चुनौतिका रुपमा रहेका छन् । तसर्थः हामीले धार्मिक ग्रन्थमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्नसक्नै पर्दछ”, प्रधानमन्त्रीले भन्नुभएको छ, “हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कूरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन् । अब हामीले विलम्ब नगरी विभेदर कूरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाजनिर्माण गर्न सक्नुपर्दछ ।”

प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै सङ्घीय संरचनामा महिलाको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्यरुपमा वृद्धि भएकामा खुशी व्यक्त गर्नुभएको छ ।

“मातृमृत्युदरमा सुधार, महिलाको कूल साक्षरता दरमा वृद्धि तथा उनीहरुको आर्थिक सशक्तीकरण भइरहेको तथ्याङ्कले देखाएका छन् । पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षण देखिन थालेका छन् । राज्यका विभिन्न अङ्गमा महिलाको सहभागिता बढ्दै गएको छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।

महिला र पुरुषबीच सारभूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत प्रयास हँदाहुंदै पनि समाजमा कुनै न कुनै परिमाणमा पितृसतात्मक सोच कायमै रहनु र महिलालाई विकासका सबै चरणमा सारभूत सहभागिता गराउन नसक्नु हामीले परास्त गर्नै पर्ने चुनौती रहेको प्रधानमन्त्रीले बताउनुभएको छ । उहाँले आज पनि लैङ्गिक हिंसा तथा गरीबीको प्रभाव महिलामा बढी परेको र यस्तो अवस्थामा परिवर्तन गर्न आधा आकाश र आधा धर्ती ओगट्ने महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सङ्कल्प साकार नहुने उल्लेख गर्नुभएको छ । महिला सशक्तीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तहले आआफ्नो स्थानबाट नयाँ सोचका साथ नीति योजना र कार्यक्रम तय गरी लागू गर्नेछन् भन्ने कुरामा आफू विश्वस्त रहेको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक