बुधबार, माघ ५ २०७८ | Wed, January 19, 2022
नेपालको समय: ०४:३७ | UK Time: 22:52

आज महाशिवरात्रि, पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन

रासस
२०७५ फागुन १९ गते २१:३१

महाशिवरात्री पर्वको अघिल्लो दिन आइतबार साँझ पशुपतिनाथ मन्दिर परिसरमा देखिएको रमणीय दृश्य । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौँ, २० फागुन – फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । यस वर्ष प्रयागराजमा भएको कुम्भ मेलाका दर्शनार्थीमध्ये केही पशुपतिनाथ मन्दिरमा पनि आएकाले एक साता अघिदेखि नै साधुसन्त लगायत भक्तजनको भीड बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । गत वर्षदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले कारवाही गर्ने उहाँले बताउनुभयो ।

५ हजार सुरक्षाकर्मी परिचालन

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । पशुपतिनाथ पाश अर्थात् बन्धनमा परेका प्राणीका मुक्तिदाता मानिन्छन् । कैलाशनिवासी शिवले मृगस्थलीमा मृग रुप लिई धेरै वर्ष रमण गरेको पौराणिक कथामा वर्णन छ ।

पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन हुने भएका छन् । कोषको ऐनमा नै पाशुपत क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेतमा गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदाको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको सचिव ढकालले बताउनुभयो ।

कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाएको छ । विगत वर्षमा मूल सभा समितिबाट नै सम्पूर्ण व्यवस्था हुन्थे । यस वर्ष एउटा एउटा विषयगत उपसमितिको गठन भई सेवा दिइने भएको कोषले जनाएको छ । त्यस्तै दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ । हंसमण्डप,वनकालीको खुला स्थान,तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ । आवास क्षेत्रमा १०० संस्थाले निशुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाइएको छ ।

यस वर्ष शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तको सङ्ख्या वृद्धि भएको छ । इलाहावादस्थित प्रयागमा भएको कुम्भमेलालगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढेको कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताउनुभयो । उनीहरुलाई यही फागुन २२ गते दानदक्षिणका साथ बिदाइ गरिने कोषले जनाएको छ ।

त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि पाँच स्थान छुट्याइएको छ । यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । दर्शनका लागि बिहान ३.३० बजेदखि नै पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिने कोषले जनाएको छ ।

महाशिवरात्री पर्वको अघिल्लो दिन आइतबार पशुपतिनाथ मन्दिर परिसरमा बाबाको तस्वीर लिँदै पर्यटक । तस्बिर – रोशन सापकोटा, रासस

उपराष्ट्रपतिद्वारा महाशिवरात्री सेना दिवसको शुमकामना

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाशिवरात्रीका अवसरमा आम नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले आज जारी गरेको प्रेस विज्ञप्ति जारी सन्देशमा हन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्री २०७५ का समस्त हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु विज्ञप्तिमा भनिएको छ ।

उपराष्ट्रपति पुनले सेना दिवस–२०७५ को अवसरमा प्रधानसेनापतिसहित नेपाली सेनाको सकल दर्जामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा नेपाली सेनाले आफूलाई सुदृढ, सशक्त र समयसापेक्षा आधुनिकीकरण गर्दै लैजानेमा विश्वस्त छु र यस कार्यमा सबै पक्षको साथ रहने अपेक्षासमेत लिएको छु भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक