राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पशुपति आर्यघाटमा दागबत्ती दिँदै तीन छोरी । तस्बिर – प्रदीपराज वन्त,रासस

काठमाडौँ, १९ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो ।

नेता अधिकारीको पार्थिव शरीरमा उहाँकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्व.भरतमोहन अधिकारीलाई आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मान दिँदै सशस्त्र प्रहरी बलको एक टुकडी । तस्बिर – प्रदीपराज वन्त, रासस

सोही अवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले उहाँप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता अधिकारीको शनिबार राति ९.३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षका उमेरमा निधन भएको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिएको थियो । उहाँको पार्थिव शरीरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि दिनुभएको थियो ।

जनताका मोहन अर्थात् भरतमोहन अधिकारीले मुलुकको कार्यवाहक प्रधानमन्त्री, दुई पटक उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको थियो । विसं २०४७ पुस २२ गते नेकपा (माक्र्सवादी) र नेकपा (माले)का बीचमा एकीकरणमा उहाँले अहम् भूमिका निर्वाह गर्नुभएको थियो । नेपालको संविधान २०४७, अन्तरिम संविधान २०६३ तथा नेपालको संविधानमा नेता अधिकारीको योगदान महत्वपूर्ण रहेको थियो ।

नेता अधिकारीले अर्थमन्त्री हुँदाका समयमा ल्याउनुभएको ‘आफ्नो गाउँ आफैं बनाऔँ’, ज्येष्ठ नागरिक भत्ताजस्ता कार्यक्रम अति लोकप्रिय रहेका छन् ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री