उदीयमान युवा नेता अधिकारीको अवसान

काठमाडौँ, १५ फागुन – ताप्लेजुङमा आज भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का लोकप्रिय युवा नेता हुनुहुन्थ्यो ।

विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी सो मन्त्रालयको मन्त्रीका रुपमा विसं २०७४ चैत २ गते नियुक्त हुनुभएको थियो । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबमा संलग्न भएर विद्यार्थीलाई निःशुल्क अध्यापन ‘कोचिङ’ को व्यवस्था, पुस्तकालय, सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायत माध्यमबाट राजनीतिक जागरणका गतिविधिमा क्रियाशील रहनुहुन्थ्यो । उहाँ विद्यार्थी जीवनमा जेहेन्दार, लगनशील, अध्ययनशील र अनुशासित विद्यार्थीका रुपमा सुपरिचित हुनुहुन्थ्यो ।

उहाँको विसं २०२६ वैशाख २२ गते कास्कीको भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी र पिता इन्द्रप्रसाद अधिकारीका ज्येष्ठ सुपुत्रका रुपमा जन्म भएको थियो । अधिकारीले आफ्नै गाउँको ब्रह्म ज्योति प्राथमिक विद्यालय शान्ति पँधेरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि बरपाण्डेथुमबाट माध्यमिक शिक्षा हासिल गर्नुभएको थियो ।

प्रवेशिका परीक्षा उत्तीर्ण गर्नेबित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना हुनुभएका उहाँले केही समयपछि विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्नुभयो । विद्यालयदेखि नै राजनीतिमा क्रियाशील उहाँले आफूलाई अझ परिष्कृत गर्दै विसं २०४४ मा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, विसं २०४५ मा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, विसं २०४५ मा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष हुनुभएको थियो ।

विसं २०४७ मा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य, विसं २०४९ मा पृथ्वीनारायण क्याम्पस पोखरा र विसं २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएर विद्यार्थी राजनीतिमा आफूलाई अब्बल दर्जामा उभ्याउन सफल हुनुभएको थियो ।

विसं २०५६ मा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुनुभएका अधिकारी विसं २०५३ मा नै स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनुभयो । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर उहाँको ‘संविधानसभा लोकतन्त्र र पुनः संरचना’ र समृद्ध नेपाल ‘अ रोड टु प्रसपरीटी’, अङग्रेजीमा अनुवाद पुस्तक २०६३ प्रकाशित छ । विगत दुई दशकदेखि उहाँका सयौं अनुसन्धान र राजनीतिक चेतनाका लेख छापिएका छन् । विसं २०४५ मा एक वर्ष माध्यमिक विद्यालयमा अध्यापन गर्नुभएका अधिकारीले विभिन्न क्याम्पसमा अतिथिका रुपमा अध्यापन गर्नुभएको थियो ।

एशियाली विद्यार्थी सङ्गठन, विश्व प्रजातान्त्रिक युवा सङ्घलगायत अन्तर्राष्ट्रिय युवा विद्यार्थी सङ्गठनमा संलग्न भएर भूमिका निर्वाह गर्नुभएका अधिकारीले विभिन्न अन्तर्राष्ट्रिय सम्मलेनमा भाग लिनुभएको थियो ।

अधिकारी पञ्चायतकालमा विद्यार्थी आन्दोलन, स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताका पक्षमा क्रियाशील हुनुहुन्थ्यो । विसं २०४६ को जनआन्दोलनमा क्रियाशील रवीन्द्र पञ्चायतकालमा पटकपटक गरी छ महीना जेल र हिरासतमा बिताउनुभएको थियो ।

विसं २०४५ मा पार्टीको सङ्गठित सदस्यता प्राप्त गर्नुभएका अधिकारी विसं २०३९ मा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा सङ्गठित हुनुभएको थियो । विसं २०४० मा इलाका पार्टी कमिटी, विसं २०४६ र ०४७ मा पोखरा नगर कमिटी र विसं २०४८ एवं त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय हुनुभयो । उहाँ विसं २०६० र २०६३ मा तत्कालीन नेकपा ‘एमाले’ को जिल्ला सचिव हुनुभएको थियो । उहाँ २०७१ सालमा सम्पन्न नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचीत हुनुभएको थियो ।

विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित उहाँ सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत्, फ्रिक्वेन्सी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, मेसिन रिडएबल पासपोर्ट आदि विषयमा विभिन्न उपसमितिमा रहेर त्यस्ता सवालका विकृतिविरुद्धको नेतृत्व गर्नुभएको थियो । संविधानसभामा राष्ट्रियहित संरक्षण समिति र युवाको दबाब समिति निर्माण गरी संविधानसभा निर्माणमा निरन्तर खबरदारी गर्नुभएको थियो ।

संविधानसभा निर्माणमा सुरक्षा र अन्तर्राष्ट्रिय सीमाका विषयमा उपसमितिको नेतृत्व गर्नुभएका उहाँ विसं २०७० को चुनावपछि संसद्को विकास समितिमा सभापति हुनुभएको थियो । संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उचाइ दिन अधिकारीले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील भूमिका खेल्नुभएको थियो । विभिन्न मुलुकको भ्रमण गरी नेपालको छवि उजिल्याउन पनि अधिकारीले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

राष्ट्रपतिद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले आज ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

साथै हेलिकप्टरमा सवार पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवकहरुको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा समवेदना

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले केहीबेरअघि मन्त्री निवास पुल्चोक पुगेर स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रिपरिषद्का सदस्यले पनि अधिकारीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभयो ।

नेपाली काङ्ग्रेसद्वारा शोक प्रकट

नेपाली काँङ्ग्रेसले ताप्लेजुङमा आज भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अघि बढ्नुभएका मन्त्री अधिकारी नेपाली राजनीतिका उदीयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो भन्नुभएको छ ।

सभापति देउवाले मन्त्री अधिकारीको असामयिक निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उहाँको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको उहाँले समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ ।

दुर्घटनामा ज्यान गुमाउनुभएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवान्सँग प्रार्र्थना गर्दै पार्टीले दुर्घटनाको कारण पत्ता लगाउन सरकारसँग आग्रह गरेको छ ।

यसैबीच विवेकशील साझा पार्टीले हेलिकप्टर दुर्घटनामा परी पर्यटन तथा नागरिक उड्ययनमन्त्री अधिकारीसहित सात जनाको निधन भएको खबरले पार्टी स्तब्ध भएको जनाएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरिएको सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

दमौली, १५ फागुन – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित सात जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

आज शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले उक्त दुर्घटनामा परेका मृतकप्रति श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । ‘मिजासिला र भद्र व्यक्तिका रुपमा बेग्लै राजनीतिक छवि बनाउनुभएका मन्त्री अधिकारीको निधनमा सरकार, नेपाल कम्युनिष्ट पार्टी, उहाँको परिवार एवं शुभेच्छुकप्रति गहिरो समेवदना व्यक्त गर्दछु,’ उहाँले भन्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले दुर्घटनामा ज्यान गुमाउनुभएका यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको उल्लेख गर्नुभएको छ । साथै नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले आफूलाई स्तब्ध तुल्याएको उहाँले शोक वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री