सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सहभागी हुदै । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौँ, ७ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।

सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो ।

त्यस अवसरमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका सङ्घ संस्थाबाट मार्चपास गरिएको थियो ।

समारोहमा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर, थिमि, कीर्तिपुरद्वारा आ–आफ्नो क्षेत्रका विविध सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा राष्ट्रिय गीतका धुनहरुसहितको साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । प्रजातन्त्र दिवसको कार्यक्रम हेर्न टुँडिखेल वरपर सर्वसाधारणको भीड लागेको थियो । उक्त समारोहको नेपाल टेलिभिजन र रेडियो नेपाललगायत विभिन्न विद्युतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।

६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा नेपाली सेनाले मार्चपास । तस्बिर – रोशन सापकोटा, रासस

मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हुंदैनप्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पुरयाउन आह्वान गर्नुभएको छ ।

उनान्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गर्र्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेका छौँ । परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन् । हाम्रो जिम्मेवारी पनि बदलिएको छ ।’’

“निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्दै हामी अहिले गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध तथा आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा अग्रसर छौँ”, उहाँले भन्नुभयो ।

यतिखेर सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को उद्देश्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वदेश र विदेशका लगानीकर्ताको संलग्नतामा आउँदो चैत महीनामा लगानी शिखर सम्मेलनको आयोजना गरिँदैछ । लोकतन्त्र प्राप्तिको सात दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रको पनि नैतिक समर्थन प्राप्त गरेका छौँ ।’’

सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति र सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिबद्ध छौँ ।”

प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रजातन्त्रको लागि भएको लामो सङ्घर्षका क्रममा हामी नेपालीले जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरयौँ । प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफूलाई बलिदान गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु ।’’

“प्रजातान्त्रिक हक–अधिकारको स्थापनाका लागि विगतमा भएको अथक र अनवरत आन्दोलनमा आफूलाई समाहित गर्ने वीर-विरङ्गनाको स्मरण गर्ने, नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने र विगतमा भए गरेका कमी कमजोरीको समीक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गरी अघि बढ्ने सङ्कल्प गर्ने दिन पनि हो”, उहाँले भन्नुभयो ।

अहिले द्वन्द्व व्यवस्थापन लगभग भइसकेको, द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनाएको, आफ्ना समस्या आफैँ हल गर्नसक्ने क्षमता प्रदर्शित भएको र अहिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढेको प्रधानमन्त्री ओलीले भनाइ छ ।

लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्बित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जारी लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधि निन्दनीय रहेको बताउनुभयो ।

नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ पनि स्वीकार्य हुन नसक्ने बताउँदै उहाँले यस्ता गतिविधि गर्नेविरुद्ध सरकार कडाइका साथ प्रस्तुत भई कानूनी कारवाही गर्ने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु, मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुंदैन ।’’

विसं २००७ फागुन ७ गते आजकै दिन नेपालीको एकताबद्ध सङ्घर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको गौरवमय दिनको सम्झना र सम्मानमा हरेक वर्ष प्रजातन्त्र दिवस मनाइँदै आएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री