बेलायतका नेपालीको मन्दिर सपना पुरा


लन्डन । नेपाली बसोवास उल्लेख्य रहेको बेलायतको अल्डरसटमा शिव मन्दिर बन्ने भएको छ । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको नेतृत्वमा नेपाली डायस्पोरा र विदेशी शुभचिन्तकहरुबाट मन्दिर निर्माणार्थ करिब ४ करोड ३५ लाख रुपैयां जुटाइएको हो ।

सेन्टरले अल्डरसट क्वीन्स रोडमा अवस्थित पुरानो चर्च भवन ३ लाख एक हजार एक सय ९० पाउण्डमा खरिद गरि शुक्रबार प्रोपर्टीको सांचो लिएको छ । अब सेन्टरका प्रोपर्टी कोअर्डिनेटर हर्क गुरुङको संयोजनमा २ हजार ६६२ स्क्वायर फिट क्षेत्रफलको उक्त भवन रिफर्बिस (मर्मत) गरि तीन महिनाभित्र शिव मन्दिर र सामुदायिक क्रियाकलापका लागि हल 
प्रयोगमा ल्याइनेछ ।

मन्दिरमा चतुर्मुखी शिवलिंग, पाञ्चायन, घण्टा, नन्दी लगायत स्थापना गरि मन्दिर प्रतिस्थापन गरिने सेन्टरका अध्यक्ष रोहित गुरुङले जानकारी दिए । करिब दुई सय जनासम्म अट्ने उक्त भवनमा नियमित पूजाआजाबाहेक शिवरात्री, दशैंतिहार, एकादशी, सरस्वती पूजा, बुद्ध पूर्णिमा, विश्वकर्मा पूजा, होली जस्ता पर्व र बिहे ब्रतवन्ध, योगा देखि आध्यात्मिक प्रवचनसम्म गरिने सेन्टरले जनाएको छ ।

‘मन्दिर बनाउन हाम्रो अभियानलाई साथ दिने समस्त नेपाली समुदायप्रति हामी कृतज्ञ छौं’, अध्यक्ष गुरुङले भने ।

मन्दिर तथा सामुदायिक भवन खरिदका लागि करिब ३ सय ६० जना मनकारी दाताले चन्दा दिएका थिए । सेन्टरको खातामा ३ लाख २९ हजार पाउण्ड आइसकेको छ भने प्रतिवद्धता रकम करिब २० हजार पाउण्ड उठ्न बांकी छ ।

व्यक्तिगत रुपमा सबैभन्दा बढि करिब २१ लाख रुपैयां चन्दा दिएका व्यवसायी रबिजंग लामिछानेले मन्दिर निर्माणले नेपाली समुदायलाई एकै ठाउंमा ल्याएको बताए । ‘मन्दिर बनाउन हरेक जात जाती, धर्म, वर्ग र समुदाय एकजुट भएर चन्दा दिए । यसले बेलायतको नेपाली समाजमा एकताको सन्देश प्रवाह गरेको छ’, लामिछानेले भने । नेपाल धुम्बाराहीमा करिब २ करोड रुपैयांको लागतमा श्री चन्द्रेश्वर महादेव मन्दिर बनाइदिएका लामिछानेले नै यहां मन्दिरमा राख्न मुर्ति लगायत अन्य सामाग्रीको खर्च बेहोर्ने भएका छन् ।

सेन्टरले विगत तीन वर्षदेखि अल्डरसटकै एम्पायर हलको माथिल्लो 
फ्ल्याट भाडामा लिइ मन्दिर स्थापना गरेर विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री