एयरपोर्टमा एनआरएनलाई बेग्लै ‘डेस्क’ दिने आश्वासन

लन्डन । नेपालको अध्यागमन प्रणाली बेलायत, हङकङ वा सिंगापुरकै सरह बनाउने तयारी भइरहेको एकजना वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । प्रशिक्षणका लागि यतिखेर बेलायत रहेका अध्यागमन विभाग महानिर्देशक ईश्वरराज पौडेलले ‘नेपाली पोर्ट सफ्टवेयरमार्फत करिब ८-९ महिनाभित्र नेपालको अध्यागमन प्रणाली पूर्णरुपमा परिवर्तन हुने बताएका हुन् ।

लाखौं विदेशीहरुको पहिलो अनुभव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनबाटै शुरु हुन्छ । सरकारले २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरिसकेको अवस्थामा अध्यागमन र विमानस्थलभित्रका कयौं कमी कमजोरीबीच पौडेलले करिब २४ करोड रुपैयां बजेटमा अध्यागमन प्रणालीमा व्यापक सुधारको तयारी भइरहेको जानकारी दिए । अध्यागमन सुधारको यो उपयुक्त समय भएको र यसमा नयां युग आउने उनको जिकिर छ ।

‘अब विमानस्थलमा स्वदेशी तथा विदेशी यात्रुलाई शुरुमै पोशाक र ब्याच लगाएका महिला अधिकृतहरुले स्वागत गर्नेछन्’, पौडेलले सुनाए, ‘कस्टमर फ्रेण्डलीमात्र होइन, उच्चप्रविधियुक्त 
बायोमेट्रिक, फोटो क्याप्चर र डेटाबेस प्रणाली शुरु गरिनेछ ।’
पर्यटक र गैर पर्यटक भिजाको वर्गीकरण पनि गरिने उनले जनाए ।

अध्यागमन विभाग महानिर्देशक पौडेलसहित विभागका निर्देशकहरु विष्णुहरि उपाध्याय र आनन्द पौडेल, अध्यागमन सल्लाहकार कुल शेखर अर्याल तथा गृह उपसचिव चुडाराज न्यौपाने बेलायतको अध्यागमन प्रणालीबारे अध्ययन तथा प्रशिक्षण लिन बेलायत आएका हुन् । उनीहरुलाई यूके बोर्डर फोर्स, नेशनल क्राइम एजेन्सी र नक्कली कागजात पहिचान गर्ने ‘फोर्जर युनिट’ पदाधिकारीले तालिम दिएका थिए । टोलीले गैर कानुनी आप्रवासीलाई राखिने हिथ्रोको 
‘डिटेन्सन सेन्टर’ समेत निरिक्षण गरेको थियो । ‘हामीहरु सबैको यो बेलायत भ्रमण हो । यहां सिकेका कुराहरु नेपालमा समेत लागू गर्न हाम्रो प्रयास रहनेछ’, महानिर्देशक पौडेलले भने ।

यसैबीच, गैर आवासीय नेपाली संघ बेलायतले शुक्रबार सांझ अध्यागमन अधिकारीहरुसंग लन्डनमा एक अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रमका सहभागीले नेपालको अध्यागमनका झन्झटिलो प्रक्रिया, ढिला सुस्ती, कर्मचारीको रुखो व्यवहार र पक्षपात आदिबारे गुनासा गरेका थिए । एनआरएनए यूकेले करिब ३६ लाख गैर आवासीय नेपाली विदेशमा रहेको जनाउंदै उनीहरुको स्वागतका लागि विमानस्थलमा बेग्लै ‘एनआरएन डेस्क’ राख्न माग गरेको थियो । प्रतिउत्तरमा महानिर्देशक पौडेलले विमानस्थलमा अध्यागमन प्रक्रियामा धेरै सुधार भइसकेको र अब छिटट्ै नयां युग शुरु हुने विश्वास दिलाए । नेपाल सरकारले एनआरएनलाई फरक दुरीमा 
राखेर नहेरेको पनि उनको भनाइ थियो ।

संघका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, आइसीसी सदस्यहरु रामशरण सिम्खडा र कुमारी गुरुङ, उपाध्यक्षहरु शेरबहादुर सुनार, प्रेम गाहामगर, उपमहासचिव विनय अधिकारी, सल्लाहकार तथा पूर्व डिएसपी शिवजी श्रेष्ठ, पत्रकार एवं पूर्व डिएसपी बाचस्पति रेग्मी, थर्क सेन, देव गुरुङ, डेभिड गुरुङ लगायत पदाधिकारीले विभिन्न सुझाव र अनुभव बांडेका थिए ।

महासचिव आर के त्रिपाठीले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए यूकेले महानिर्देशक समक्ष सुधारका लागि एक सुझावपत्र समेत दिएको छ ।

तस्विरहरु- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री