राष्ट्रनिर्माताप्रति सबैबाट तारिफ तर बिदा दिन हिच्किचाहट

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि नेपाली सेनाको सलामी ग्रहण गर्दै । तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाडौँ, २७ पुस – राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले २९७ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उहाँको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उहाँको योगदानको स्मरण गर्नुभयो ।

सो अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुग्नुभएको थियो ।

यसअघि ठकुरी सेवा समाज, ग्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायतका सङ्घसंस्थाको बाजागाजासहितको रयालीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेको थियो । रयालीमा सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ तथा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस् भन्ने प्लेकार्ड बोकेका थिए ।

राप्रपाको चियापानमा पृथ्वी नारायणको सम्झना

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय एकीकरणका प्रमुख व्यक्तिका रुपमा सम्झिएका छन् ।
उहाँको २९७औँ जन्मजयन्तीका अवसरमा विभिन्न दलका नेता तथा राजनीतिज्ञले उहाँको योगदानको कदर गर्दै पुष्पअर्पण गरेर स्मरण गरेका छन् । नेताहरुले राष्ट्रको एकता र सार्वभौमसत्ता जोगाउन पृथ्वीनारायणले खेलेको भूमिका प्रशंसनीय रहेकाले आजको दिनलाई त्यहीअनुसार स्मरण गर्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले राष्ट्रको एकता, सार्वभौमसत्ता र स्वाभिमान जोगाउन उहाँले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्मरण गर्नुभयो । आजको दिनमा बिदा कटौती हुनु दुखद् रहेको उल्लेख गर्दै उहाँले यसको पुनः व्यवस्था हुने बताउनुभयो ।

चियापानमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासमेत सहभागी हुनुभएको थियो । पृथ्वीनारायणलाई सुझबुझ भएको नेपाली राष्ट्रियताको प्रतीकका रुपमा सम्झँदै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो, “उहाँले राष्ट्रिय एकीकरण गरेकाले हामीले नेपालीको रुपमा गौरव गर्ने अवसर पाएका छौँ, त्यसकारण उहाँप्रति ठूलो सम्मान छ ।”

विसं २०६२-६३ को आन्दोलनपछि वातावरण त्यस्तै बनेकाले उहाँको सम्झना कम भएको भन्दै पौडेलले जस–जसले योगदान गरे उनीहरुलाई सम्झनुपर्नेमा जोड दिनुभयो । बिदा कटौती नगर्दा नै राम्रो हुने उहाँले सुझाव दिनुभयो । अर्का नेता गोपालमान श्रेष्ठले राष्ट्रको एकता र एकीकरणमा पृथ्वीनारायणको ठूलो भूमिका रहेकाले त्यही भूमिकालाई सम्झेर स्मरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पृथ्वीनारायणको योगदानलाई सम्झनेको जमात बढ्दै गएको बताउनुभयो । राज्यबाट पनि विचार विमर्श गरेर सम्झने वातावरण बन्ने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रको स्वाभिमान र एकतालाई मजबुत बनाउँदै अगाडि बढाउनुपर्ने आजको दिनले सन्देश दिएको उल्लेख गर्नुभयो ।

चियापान समारोहमा सहभागी नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले नेपाललाई एकताबद्ध बनाएर पृथ्वीनारायणले महत्वपूर्ण योगदान पुरयाएको कुरामा कुनै विवाद नरहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आजको दिनले सबै राजनीतिक शक्तिमा सद्भाव र एकताको अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्ति गर्नुभयो । आगामी दिनमा सरकारले पूर्ण रुपमा मान्यता दिएर सार्वजनिक बिदा दिने आशा राखेको उहाँको भनाइ थियो ।

चियापानमा नेपाली काङ्ग्रेसका कोषाध्यक्ष सीतादेवी यादव, परराष्ट्रविद् रमेशनाथ पाण्डे, पूर्वप्रहरी अधिकृत रमेश खरेल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको सहभागिता थियो ।

लिगलिगकोटमा ठूलो राष्ट्रिय झण्डा

गोरखा, २७ पुस – गोरखाको ऐतिहासिक लिगलिगकोट दरबार परिसरमा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ ।

पालुङटार नगरपालिका–२ स्थित लिगलिगकोटमा पालुङटार नगरपालिकाले आज ४० फिट अग्लो राष्ट्रिय झण्डा राखेको हो । राष्ट्रिय एकता दिवसको अवसर पारेर नगरपालिकाले लिगलिगकोटको पर्यटन प्रवद्र्धनका लागि पहिलो चरणको कामको शुरुआत गरेको नगर प्रमुख दीपकबाबु कँडेलले बताउनुभयो ।

उहाँले लिगलगिकोटमा राखिएको झण्डाले यहाँ पुग्ने सबै नेपालीमा राष्ट्रियताको भावना थप जागृत गराउने जानकारी गराउनुभयो । उहाँले लिगलिगकोटमा घुम्न आउने पर्यटकलाई घरवासको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले चालू आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन तथा घरवास विकासका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । उक्त क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड रकम विनियोजन गरेर प्रदेशस्तरीय सङ्ग्रहालय निर्माणको काम अघि बढाइसकेको छ ।

पृथ्वीजयन्तीमा बिदा दिन माग

विदुर, २७ पुस- सरकारी तवरबाट कुनै कार्यक्रम नभए पनि नुवाकोटमा नागरिकस्तरबाट आज स्वतस्फुर्त रुपमा २९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । सो अवसरमा पृथ्वीजयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउन माग गदै नागरिकहरुले शाहको सम्मान गरेर मात्रै देशको राष्ट्रियता जोगिने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेन्द्रबहादुर पाण्डेले नेपालको राजनीतिक अवस्था कमजोर भएर राज्य सञ्चालनमा समस्या उत्पन्न भएका समयमा पृथ्वीनारायणको दिव्योपदेशलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाँले पृथ्वीनारायणको जन्मजयन्तीको दिन सरकारले सार्वजानिक बिदा दिनुपर्ने माग पनि गर्नुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री