जापान रोजगारी – कामदार भर्ना र छनोट पारदर्शी बनाउन जोड

काठमाडौँ, २३ पुस – नेपालले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाइनुपर्नेमा जोड दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गर्नुभएको शिष्टाचार भेटमा उहाँले कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदारको छनोट पारदर्शी रुपमा हुनुपर्ने बताउनुभयो ।

नेपाली युवा कामका लागि जापान जाँदा कुनै मध्यस्थता वा विचौलियाको ठगीमा नपरून् भन्ने विषयमा सरकार सजग रहेको समेत उहाँले बताउनुभयो । सो अवसरमा उहाँहरुबीच दुवै देशको पारस्पारिक हित अनकूल उपयुक्त विधि, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमा नै जापान कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

भेटमा राजदूत साइगोले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा जापान पठाउने सन्दर्भमा जापान सरकारको धारणा सकारात्मक रहेको बताउनुभएको थियो । उहाँले नेपाली कामदारलाई जापान लैजाने विषयमा कार्य अघि बढिसकेको जानकारी गराउनुभएको थियो ।

नेपाली कामदारलाई जापान लैजाने विधि र प्रक्रियाका बारेमा छलफल गर्न जापानबाट प्राविधि समूह आगामी माघमा नेपाल आउँदैछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री