ओली सरकार पतनतिर, टिकापुर घट्नाका अभियुक्त चौधरीलाई सांसदको शपथ

प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरी बिहीबार सिंहदरबारमा सांसद पदको शपथ ग्रहण कार्यक्रमपछि संसदको प्रतीक चिन्ह देखाउँदै । तस्वीर – रोशन सापकोटा, रासस

काठमाडौँ, १९ पुस – प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गरेका छन् ।

सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले उनलाई शपथ खुवाएका हुन् । टिकापुर घटनाका अभियुक्त चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) तर्फबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन् ।

विसं २०७२ भदौमा भएको टिकापुर घटनामा सात प्रहरी तथा अढाई वर्षे बालकको मृत्यु भएको थियो । घटना लगत्तै फरार चौधरीले निर्वाचन आयोगमा वारिसनामामार्फत उम्मेदवारी दर्ता गराइ विसं २०७४ मङ्सिर २१ मा भएको चुनावमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गरेका थिए । उनलाई संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्को प्रतीकचिह्न हस्तान्तरण गरे ।

सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले टीकापुर घटनाको सरकारले निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो कानूनी निराकरण गर्नुपर्ने बताए ।

शपथ कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतको उपस्थिति थियो । राजपाका तर्फबाट अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, पूर्वसंयोजक महन्थ ठाकुर, सदस्य शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिलकुमार झा, महेन्द्रराय यादवलगायत नेता पनि सहभागी थिए ।

सदरखोर डिल्लीबजारबाट कडा सुरक्षाबीच शपथस्थल पुरयाइएका चौधरीलाई शपथपछि पुनःडिल्लीबजार कारागार लगिएको छ । टीकापुर घटनापछि फरार चौधरीले प्रतिनिधिसभाका सदस्यको शपथ हुनु एक हप्ता अगाडि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

राप्रपाद्वारा सपथको विरोध
राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रहेका रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ गराउने कार्यप्रति विरोध जनाएको छ ।

पार्टीका नेता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा टिकापुर घटनाका अभियुक्त चौधरीलाई सपथ गराउने कार्य ‘कानूनी राज्यको सिद्धान्तप्रति उपहास’ भएको उल्लेख छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री