राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा आयोजित फोटो प्रदर्शनीको बुधबार आर्ट काउन्सिलमा अवलोकन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका निर्देशक सुशिल ज्ञवाली । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १३ पुस – भूकम्पले भत्किएका २४८ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार १४५ भवन पुनःनिर्माण भइरहेको छ । २२ भवन पुनःनिर्माण गर्न बाँकी रहेको प्राधिकरणले तीन वर्षे अवधिमा गरेको प्रगति विवरणमा उल्लेख छ ।
हालसम्म ६० प्रतिशत सरकारी भवन पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ७५ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७६-७७ मा ९० प्रतिशत पुनःनिर्माण सक्ने लक्ष्य छ । आव २०७७-७८ मा ४१५ वटै सरकारी भवनको पुनःनिर्माण सकिने उहाँले बताउनुभयो । भूकम्पले १६२ सरकारी भवनमा पूर्ण र २५३ मा आंशिक क्षति पुगेको थियो ।
सुरक्षा निकायका सय भवन पुनःनिर्माण सम्पन्न
सुरक्षा निकायका ३८३ भवन पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म १०३ वटा भवन सम्पन्न भएको छ भने १०२ भवन पुनःनिर्माण भइरहेको प्राधिकरणले जनाएको छ । सुरक्षा निकायका १७८ भवन बनाउन बाँकी रहेको जनाइएको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म सुरक्षा निकायका ६० प्रतिशत भवन पुनःनिर्माण गरिसक्ने लक्ष्य छ । आर्थिक वर्ष २०७६-७७ मा ९५ प्रतिशत पुनःनिर्माण सकिने कार्ययोजना छ । आव २०७७-७८ मा ३८३ अर्थात् शतप्रतिशत सुरक्षा निकायका भवनको पुनःनिर्माण सक्ने प्राधिकरणले जनाएको छ ।
भूकम्पले नेपाली सेनाका २०४, नेपाल प्रहरीको १३९, सशस्त्र प्रहरीको ३१ र राष्ट्रिय अनुसन्धान विभागका नौ भवन भत्किएको थियो ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।