नेकपाको साङ्गठनिक एकता पुस मसान्तसम्म

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा भाग लिनेक्रममा पार्टीका अध्यक्षलगायत नेताहरु । तस्वीर – नविन पौडेल, रासस

काठमाडौँ, १२ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । आज पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गर्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो ।

आफ्नो राजनीतिक प्रतिवेदनका सन्दर्भमा स्थायी कमिटी सदस्यले बैठकमा राखेका विभिन्न विषयको जवाफ दिने क्रममा अध्यक्ष ओलीले कार्यदल गठन गरेर बाँकी रहेको सङ्गठनको एकतालाई निष्कर्षमा पुरयाउने बताउनुभएको प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो ।

एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानून व्यवसायी सङ्गठनमा मात्रको एकता भएको छ । जिल्ला कमिटी, स्थानीय तह र जनवर्गीय सङ्गठनको एकता हुन अझ बाँकी नै रहेको छ ।

उहाँले बैठकमा भएको छलफलले अझ उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको उल्लेख गर्नुभयो । पार्टीको एकतालाई बलियो बनाउनका लागि अब पार्टी एकता ढिलाइ गर्नुहुंदैन ।

उहाँले भन्नुभयो, ‘‘अहिले पार्टी एकतालाई छिन्नभिन्न बनाउन केही तत्व लागेका छन् । तिनलाई परास्त गरेर जानु पर्दछ । बैठकमा प्रधानमन्त्री ओलीले माघ महिनाभित्र सबै कमिटीको भेला र केन्द्रीय कमिटीको बैठकसमेत आयोजना गर्ने बताउनुभयो ।

यस्तै फागुन, चैत्रमा पार्टी एकतालाई अझ बलियो बनाउनका लागि राष्ट्रिय अभियान समेत सञ्चालन गर्ने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताउनुभयो । अध्यक्ष ओलीको राजनीतिक प्रस्तावमा माघ, फागुनमा राष्ट्रिय अभियान सञ्चालन गर्ने उल्लेख गरिएको थियो ।

नेता भट्टराईले संसद् चलिरहेकोले समय अभावका कारण अध्यक्ष ओलीले नै फागुन, चैत्रमा अभियान सञ्चालन गर्ने प्रस्ताव ल्याउनुभएको बताउनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाएर लैजानेसमेत बताउनुभएको भयो ।

उहाँले मुलुकको राष्ट्रियता एकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता लागि पार्टी र सरकारको प्राथमिकतामा रहेकाले यसलाई अझ दृढ भएर लाग्ने बताउनुभयो । ‘‘लोकतन्त्रलाई सृदृढ गराउने, सुशासन कायम राख्ने, सङ्घीय प्रणालीलाई बलियो बनाउने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने सरकारको पहिलो प्राथमिकता रहेको छ’’ उहाँले बैठकमा भन्नुभयो ।

सरकारले यी कुरालाई ध्यानमा राखेर काम गरिरहेको छ । सरकारले सफलता प्राप्त गर्दै गइरहेको छ । बैठकमा प्रधानमन्त्री ओलीले पार्टी सञ्चालनका क्रममा केही कमीकमजोरी भएपनि अबको दिनमा त्यस्ता कमीकमजोरी हुने नदिने समेत बताउनुभयो ।

उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत सुदृढीकरण गर्दै लगिरहेको बताउनुभयो । नेकपाको तेस्रो स्थायी कमिटी बैठक मङ्सिर २९ गतेदेखि जारी रहेको रहेको छ । शुक्रबार बिहान ८ बजे पुनः पार्टी मुख्यालयमा बैठक बस्ने छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री