बिहीबार, माघ १३ २०७८ | Thu, January 27, 2022
नेपालको समय: २३:४० | UK Time: 17:55

क्रिसमस अवसरमा ब्रिटेनकी महारानीको तटस्थ सन्देश

वीनेपाली
२०७५ पुष १० गते १६:२९

लण्डन । क्रिसमसको अवसरमा दिएको एक सन्देशमा ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयले फरक विचार भएका मानिसहरुप्रति पनि अरु बढी सम्मान देखाउन आह्वान गरेकी छन् ।

ब्रिटेनका झण्डै आधी जनता युरोपेली संघ छाडनु पर्ने पक्षमा र झण्डै त्यति नै युरोपेली संघमै रहनुपर्ने पक्षमा रहेका बेला महारानी एलिजाबेथले त्यसो गर्दा मानिसहरुबीच समझदारी बढ्ने बताइन् ।

गएको ६६ वर्षदेखि क्रिसमसको अवसरमा सन्देश दिंदै आएकी महारानीले निकै सावधानीपूर्वक र राजनीतिकरुपले तटस्थ रहनेगरी आफ्ना भनाइ राख्‍ने गर्दछिन् ।

उनको सन्देश आज स्थानीय समय अनुसार दिउँसो तीन बजे टेलिभिजनहरुबाट प्रसारण भयो । बकिंघम राजदरबारले ९२ वर्षीय राष्ट्रप्रमुखको सम्वोधनमा संसारमा शान्ति र सद्भावको सँधै झैं खाँचो परेको उल्लेख गरेको जनाएको छ ।

आफ्नो क्रिसमस सन्देशमा प्रधानमन्त्री टेरेसा मेले संसारका विभिन्न ठाउँमा तैनाथ ब्रिटिश सैनिकहरुको प्रशंसा गरेकी छन् । पहिलो विश्व युद्ध सकिएको १०० वर्ष पुरा भएको सम्झना गर्दै उनले सैनिकहरुका कैयौं पुस्ताले देशकालागि बलिदन गरेको बताइन् ।

उता ब्रिटेनका एक प्रतिष्ठित धर्मगुरु आर्चविशप अफ क्यान्टरवरी जस्टीन वेल्बीले ब्रिटिश जनतालाई घृणा, जातीयता र प्रतिद्वन्दीताको भाषा बिर्सन आह्वान गरेका छन् ।

गिर्जाघरमा उपस्थित इसाई धर्मावलम्वीहरुलाई संबोधन गर्दै उनले ब्रिटिश राजनीतिको चर्चा गरेनन् तर उनले द्वन्द्वको भाषाको ठाउँमा प्रेमको भाषा प्रयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक