उपत्यकाका संवेदनशील ७५ स्थानमा सिसी क्यामरा थपिने

काठमाडौँ, १० पुस – महानगरीय प्रहरी कार्यालय काठमाडौँले उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा सिसी क्यामरा थप्ने प्रक्रिया थालेको छ ।

प्रहरीको आफ्नै स्रोत परिचालन गरी तीन जिल्लाका मुख्यमुख्य क्षेत्रमा क्यामरा थप्न लागिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता पूजा सिंहले जानकारी दिनुभयो । सोमबार तीनै जिल्लाका प्रहरी परिसरबाट आवश्यक स्थान पहिचान गरी प्रतिवेदन पेश भएकाले पहिलो चरणको काम थालिएको सिंहले बताउनुभयो ।

उहाँकै संयोजकत्वमा स्थान पहिचान समितिको बैठक सोमबार बसेको थियो । बैठकमा तत्कालै १०० स्थानमा क्यामरा राख्नुपर्ने देखिएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिवेदन दिएको थियो तर बजेट अभावका कारण पहिलोचरणमा ७५ स्थानमा क्यामरा थप्न लागिएको हो । क्यामरा जडान गर्न बोलपत्र आह्वान प्रक्रिया थालिएको छ । जसअन्तर्गत काठमाडौँमा २२, ललितपुरमा ३९ र भक्तपुरमा १४ वटा क्यामरा थप हुनेछ । नयाँ राख्न लागिएका क्यामरामध्ये आकासे पुल भएको स्थानमा स्थायी र अन्य चोकमा भने घुम्ने क्यामरा जडान गरिने जनाइएको छ ।

हाल उपत्यकामा ४६० को हाराहारीमा क्यामरा प्रयोग भइरहेको छ । काठमाडौँमा मात्रै ४०२ क्यामरा छ । भक्तपुरमा ३४ र ललितपुरमा २४ क्यामरा प्रयोगमा छन् । अहिले रहेका क्यामरा उपत्यकाका लागि अत्यन्त न्यून हो । स्थानीय तहसँगको समन्वयमा अन्य क्षेत्रको पहिचान गरी क्यामरा थप्ने महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न र दोषी पत्ता लगाउन सिसी क्यामराको महत्वपूर्ण सहयोग हुने भएकाले उपत्यकालाई नै निगरानी गर्ने गरी क्यामरा थप्ने प्रयास जारी छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री