काठमाडौँ, २ पुस – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवर्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् ।
प्राधिकरणले सम्झौता गरेको ती आयोजना निजी क्षेत्रले लगानी गर्न लागेका आयोजना हुन् । प्राधिकरणले उक्त आयोजनाका प्रवर्धकलाई यथाशक्य चाँडो वित्तीय व्यवस्थापन गरी निर्माणमा जान आग्रह गरेको छ ।
प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो दिन अर्थात् गत साउन १ गते आरती पावर कम्पनीले भोजपुरमा निर्माण गर्न लागेको १४ दशमलब ५० मेगावाट क्षमताको माथिल्लो इरखुवा जलविद्युत् आयोजनासँग सम्झौता गरेको थियो ।
यस्तै संखुवासभामा आयोजनास्थल रहेको १२ मेगावाट क्षमताको दूधकुण्ड खोला, एक दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो गडीगाड गरी कूल १६ आयोजनासँग सम्झौता गरेको छ । यस्तै गत भदौमा १३ आयोजनासँग विद्युत् खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
प्राधिकरणकाअनुसार गत असोजमा ११ जलविद्युत् आयोजनाको प्रवद्र्धकसँग सम्झौता हुँदा कात्तिकमा तीन आयोजनाको प्रवद्र्धकसँग मात्र त्यस्तो सम्झौता भएको थियो । यस्तै मङ्सिरमा नौ आयोजनाको प्रवर्धक र प्राधिकरणबीच विद्युत् खरीद सम्झौता भएका थिए ।
पछिल्लो समयमा प्राधिकरणले विद्युत् खरीद सम्झौतामा पुनरावलोकन गरेको छ । सोही आधारमा पाँच हजार २५० मेगावाट क्षमतासम्म नदी प्रवाही आयोजनाको सम्झौता हुनेछ । यस्तै थप ७० मेगावाट क्षमताका १२ आयोजनासँग निकट भविस्यमा नै सम्झौता गर्ने तयारी गरिएको छ ।
प्राधिकरणले पछिल्लो दिनमा अर्धजलाशय प्रकृतिका आयोजनासँग सम्झौता गर्ने तयारी गरेको छ । गत मङ्सिर २५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् खरीद सम्झौता ‘टेक अर पे’ मा गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८४-८५ सम्ममा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै ५ हजार २५० मेगावाटसम्म नदी प्रवाही प्रकृतिका आयोजनासँग सोही आधारमा सम्झौता हुनेछ । यस्तै चार हजार ५०० मेगावाटसम्मका अर्धजलाशययुक्त प्रकृतिका आयोजनाको विद्युत खरीद सम्झौता समेत ‘टेक अर पे’ गरिने प्राधिकरणले जनाएको छ ।
सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसका लागि सम्झौताको सीमा समेत तय गरिएको हो ।
वित्तीय व्यवस्थापन भई निर्माणका विभिन्न चरणमा रहेका आयोजनाको क्षमता दुई हजार ५०१ मेगावाट छ । यस्तै वित्तीय व्यवस्थापन नभएका आयोजनाको क्षमता दुई हजार ५८१ मेगावाट रहेका छन् । हाल कूल ७६ आयोजनाबाट ५२० मेगावाट विद्युत् उत्पादन भएका छन् । ती आयोजना निजी क्षेत्रका हुन् ।
प्राधिकरणको केन्द्रीय प्रणालीमा एक मेगावाटभन्दा माथिका ७४ आयोजनाबाट एक हजार तीन मेगावाट विद्युत् जोडिएको छ । यस्तै एक मेगावाट क्षमताभन्दा कमका १५ आयोजनाबाट ११ दशमलब २४ मेगावाट विद्युत् जोडिएका छन् ।
प्राधिकरणको प्रणालीमा प्राधिकरण आफ्नै पाँच हजार ५४५ मेगावाट घण्टा, निजी क्षेत्रको चार हजार ९६७ मेगावाट घण्टा र भारतबाट आठ हजार ८४३ मेगावाट घण्टा विद्युत् उपलब्ध हुँदै आएको छ । कूल माग भने १९ हजार ३५५ मेगावाट घण्टा रहेको छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’