
नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ को घ्याङफेदीमा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा मृत्यु भएकाहरुको शवसँगै स्थानीयवासी । २० जनाको ज्यान जाने गरी भएको सो दुर्घटनामा नेकपाका नेता एवं सांसद हितबहादुर तामाङसहित चिकित्सकको टोली गाउँमै पुगेर शवहरुको पोष्टमार्टम गरिएको थियो । तस्वीर- जमुना गजुरेल, विदुर (रासस)
बेत्रावती, २९ मङ्सिर – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी आज आफन्तलाई जिम्मा लगाइएको छ ।
दुर्घटनामा ज्यान गुमाएका २० मध्ये १९ जनाको शव शनिबार घटनास्थलमा नै चिकित्सकको टोलीले परीक्षण गरेपश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँको अनुसार दुर्घटनाका क्रममा घटनास्थलमा १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा घटनास्थल नजिकै रामतीमा ज्यान गुमाएका थप एकजना गरी १९ जनाको शव आज आफन्तलाई जिम्मा लगाइएको हो ।
दुर्घटनामा परी घाइते भएकामध्ये उपचारका क्रममा एक जनाको काठमाडौँमा मृत्यु भएकाले शव ल्याउन बाँकी छ । दुर्घटनामा शिखरबेँसीका १८ वर्षीय रितेश पण्डितको आजै अन्तिम संस्कार गरे पनि बाँकी १९ जनाको बौद्धधर्म परम्परानुसार आइतबार सामूहिक अन्तिम संस्कार गर्न लागिएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।
दुर्घटनामा एकै परिवारका पाँच जना परेका सुने लामा उनको भाइ लक्ष्मणको मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएर काठमाडौँमा उपचारारत् छन् । यसैगरी, टक्ले तामाङ उनको बुहारी बिबिमायाको दुर्घटनामा परी मृत्यु भएको छ भने बिबिमायाको नौ महिनाकी छोरी घाइते भएकाले काठमाडौंमा उपचाररत् छिन् ।
दुर्घटनामा घाइते भएका १५ जना घाइतेको काठमाडौँको शिक्षण अस्पताल, बिपी स्मृति अस्पताललगायतमा उपचार भइरहेको छ ।
दुप्चेश्वर गाँउपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपु भन्ने स्थानतर्फ गइरहेको बा३ख ३९१३ नं. को मिनीट्रक शुक्रबार घ्याङडाँडा दुर्घटनामा भएको थियो । सिम्टाङस्थित आफन्त कहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी साँझ ५ बजे घ्याङडाँडाको मोहडामा उकालो नचढेपछि चालकले गाडी पछि हटाएर अघि बढाउने क्रममा दुर्घटना भएको घाइते कर्मा तामाङले बताउनुभयो ।
कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटनापश्चात पाँचसय मिटरभन्दा तल तादी खोलामा पुगेको थियो । दुर्घटनापश्चात गाडीका धनीसमेत रहेका चालक नुवाकोट महाकालीका रामभक्त थापा र सहचालक साने बुढाथोकी फरार रहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति निकै भयानक भएकाले उद्धार एवम् उपचारमा स्थानीय बासिन्दाको सहयोगमा स्थानीय सरकार परिचालन भएको थियो । घाइतेका उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीसमेत परिचालन भएको थियो ।
उपचारमा आर्थिक अभाव
मिनीट्रक दुर्घटनापश्चात घाइतेको उपचारमा आर्थिक अभाव भएको छ । मिनीट्रकमा सवार यात्रुको बीमा नहुने र यातायात समितिमा समेत आवद्ध नहुँदा घाइतेलाई उपचारमा आर्थिक अभाव भएकाले नेपाल सरकारमार्फत निःशुल्क उपचारको व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन् ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले आज गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौँ र प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई पत्र लेख्दै घाइते भएकाहरु भौगोलिक विकट स्थानका गरीब समुदायका भएकाले उनीहरुका लागि निःशुल्क उपचारको व्यबस्था मिलाउन आग्रह गर्नुभएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’