नेपाली दूतावासमा नेपाल ब्रिटेन सम्बन्धबारे चर्चा

लण्डन । लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा नेपाल तथा बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्नेबारे गहन छलफल भएको छ । लण्डनस्थित नेपाली दूतावास तथा ब्रिटेन नेपाल सोसाइटीद्वारा मंगलबार आयोजित कार्यक्रममा बोल्दै समारोहका प्रमुख अतिथि ब्रिटिश सांसद सर जोन म्यानले नेपाल बेलायतको भरपर्दो मित्र रहेको बताउँदै नेपालको प्रजातान्त्रिक अभ्यासको प्रशंसा गरे । उनले वन्यजन्तु संरक्षणमा नेपालले प्राप्त गरेको सफलताबाट विश्वले नै पाठ सिक्नुपर्ने बताउँदै यस विषयमा छलफल गर्न ब्रिटिश संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ मा आफूले एक प्रस्ताव पेश गरेको जानकारी पनि दिए 
नेपाल विकास सम्मेलनको तेश्रो श्रृंखलामा ‘आगामी २०० वर्षमा नेपाल-ब्रिटेन संबन्ध’ बारे चर्चा गरिएको थियो । सो कार्यक्रममा बोल्दै ब्रिटिश सेनाका फिल्ड मार्शल सर जोन च्यापेलले नेपाल प्रकृति तथा वन्यजन्तु संरक्षणमा संसारमै अगुवा रहेको बताए । ब्रिटेनको परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख फर्गुस औल्डले सुशासन, समावेशी आर्थिक वृद्धि, हरित अर्थतन्त्र, शैक्षिक तथा प्रतिरक्षा सहयोग दुई देशबीचको सम्बन्धका प्रमुख पाटाहरु रहेको बताए । उनले सन् २०१७-१८ मा दुई देशबीच व्यापार झण्डै २० करोड पौण्ड पुगेको बताउँदै त्यसलाई अरु बढाउन सकिने सम्भावना रहेको पनि जनाए । उनले नेपालमा जलस्रोतको विकासकालागि विदेशी लगानी भित्र्याउन सघाउन डिफिडले नेपालको लगानी बोर्डलाई तीन करोड पाउण्ड सहयोग गरेको पनि जानकारी दिए ।
युनिभर्सिटी अफ लण्डन अन्तर्गतको ‘स्कुल फर अफ्रिकन एण्ड एसियन स्टडीज’ (सोआस) मा नेपाल तथा हिमाली अध्ययन विषयका प्राध्यापक डा. माइकल हटले ब्रिटेन तथा नेपालबीच सैनिक आधारमा सम्बन्ध शुरु भएपनि अहिले दुबै देशबीच सार्वभौम तथा समानताका आधारमा संबन्ध अगाडि बढीरहेको बताए । उनले नेपाली साहित्य, कला तथा समाज अध्ययनका विभिन्न क्षेत्रमा ब्रिटिश तथा नेपाली प्राज्ञहरुले मिलेर अध्ययन, अनुसन्धान गरिरहेको पनि बताए । उनले युरोपमै डिग्री तहमा नेपाली विषयको अध्यापन हुने सोआसको नेपाली विभाग बन्द हुने स्थितिमा पुगेको भन्दै चिन्ता पनि व्यक्त गरे ।
कार्यक्रममा नेपालमा भूमिगत रेलको संभावना विषयमा प्रस्तुति दिंदै इन्जिनियर डा. बिनोदलाल अमात्यले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा अहिले देखिएको अस्तव्यस्तता हटाउन भूमिगत रेल सन्जालको विकास एकमात्र विकल्पको रुपमा रहेको र त्यस्तो सन्जाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्जालसंग पनि जोडनुपर्ने बताए । उनले मोनो रेलले काठमाण्डौको ट्राफिक जाम र प्रदूषण कम गर्न नसक्ने बताउँदै भूमिगत रेलसेवा नै उपयुक्त हुने जिकिर पनि गरे ।
बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालको विकाससंबन्धी विभिन्न पाटाहरुबारे छलफल गर्न दूतावासले यसअघि दुईवटा कार्यक्रम गरिसकेको र दुई देशबीचको सम्बन्धको आधार र भविष्यकाबारेमा चर्चा गर्न सो कार्यक्रम आयोजना गरिएको बताए । उनले ब्रिटेन नेपाल च्याम्बर अफ कमर्श, नेपालमा काम गर्ने ब्रिटिश गैरसरकारी संस्थाहरु तथा ब्रिटिश प्राज्ञिकहरुसंग मिलेर दूतावासले कार्यक्रमहरु गरिरहेको जानकारी पनि दिए । नेपालका लागि ब्रिटेनका पूर्व राजदूत तथा ब्रिटेन-नेपाल सोसाइटीका अध्यक्ष एण्ड्रयु स्पार्क्सले सहभागीहरुलाई स्वागत गर्दै उनले दुई देशबीचको संबन्ध सरकारी स्तरमा मात्रै नभै जनस्तरमा पनि बलियो बन्दै गएको बताए । उनले प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।
कार्यक्रममा ब्रिटेन नेपाल सोसाइटीका सदस्यहरु तथा बेलायतस्थित नेपाली समुदायका अगुवाहरुको पनि उपस्थिति थियो । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सन्चालन गरेको कार्यक्रमको अन्त्यमा मुस्का घिमिरे र संगीता गैह्रेले रोचक नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री