‘म को हुँ ?’

Dr Kaini

लेखक डा बच्चुकैलाश कैनी

‘म को हुँ ?’ यो प्रश्न मैले आफैँलाई धेरै पटक सोधेको छु । म मात्रै हैन, अरु धेरै मानिसहरु सायद यो प्रश्न आफैंलाई गर्छन् होला । यो स्वाभाविक पनि हो । किनकी एउटै मान्छेले यो संसारमा धेरै पटक धेरै भूमिका निर्वाह गर्नुपर्छ र धेरै काम गर्नु पर्छ ।

मानिसले आफ्नो परिवार, समाज र देशमा निर्वाह गर्ने भूमिकाले उसको पहिचान हुन्छ । मानिसको आफ्नो अस्तित्व वा पहिचान भनेको विचार, काम र ब्यबहारले बनाउने हो । कोही कसैले राम्रो विचार राख्दैमा उसको बिचारमा पहिचान झल्कने हैन । मानिसको पहिचान कामले बनाउने हो । आफ्नो व्यक्तित्व, परिवार र समाजमा आफूले गर्न सक्ने योगदानको आधारमा मानिसले आफ्नो पहिचान बनाउँछ ।

सामान्यतया मानिसको पहिचान स्थीर भए पनि मानिसको पहिचान वा अस्तित्व गतिशील हुन पनि सक्छ । आज जो जे छ, भोलि त्यो त्यही नहुन पनि सक्छ । मानिसले हरेक दिन केही न केही कुरा सिकेको हुन्छ । एउटा निश्चित उमेरसम्म मानिस विचारमा परिपक्क हुँदै हुन्छ । अनि आज एउटा पहिचान भएको मानिस भोलि फरक पहिचानमा प्रस्तुत हुन सक्छ । आज एउटा सामान्य मानिस भोलि निकै विश्व चर्चित हुन सक्छ । आजको बौद्धिक  मानिस भोलि फटाहा हुन पनि सक्छ । तर, यो असामान्य अवस्थामा हुने कुरा हो ।

मानिस जब कुनै बेला संकटमा पर्छ, त्यति बेला आफ्नो अस्तित्व माथि नै आफैले प्रश्न चिन्ह खडा गर्छ । आफ्नो मनमा नकारात्मक भावना पैदा गर्छ । त्यस्तो अवस्थामा मानिसले आफ्नो पहिचानको  खोजी बढी गर्छ । आफ्नो पहिचान भनेको आफ्नो अस्तित्व हो । आफ्नो पहिचान र अस्तित्व भएन भने मानिस भएर बाँच्नुको अर्थ रहँदैन ।

नकारात्मक सोच्दा मानिसको मनमा डर, भय, शंका, बितृष्णा, रिस, इर्श्या, जलन, आदि कुराको आँधी आउँछ । त्यसले मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्छ । जब मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा असर पार्छ, तब कुनै पनि मानिसको सोचाई, काम र ब्यबहार पनि प्रत्यूत्पादक  हुँदै जान्छ । त्यसको अर्थको मानिसको पहिचानमा पनि संकट आउनु हो ।

त्यसरी नै सकारात्मक रुपमा सोच्ने हो भने आफ्नो मन, जीवन र ब्यबहारमा धेरै सकारात्मक परिवर्तन आउँछ । सकारात्मक विचारले काम गर्ने उत्साह, जोस  र जाँगर बढाउँछ । काममा सफल हुन र उत्पादकत्व बढाउन पनि सकारात्मक सोचको ठूलो भूमिका हुन्छ । अनि त्यसैले मानिसको पहिचान दिन सक्छ ।

आफ्नो जीवन सार्थक बनाउने आफैंले हो । जीवनमा हामीले गर्ने धेरै कुराको उत्पत्ति सोचबाट हुन्छ । आफ्नो लागि सोच्ने आफैँले हो र आफूले सोचे अनुसार काम गर्ने पनि आफैँले हो । मनमा आउने सबै सोच सकारात्मक र काम लाग्ने हुंदैनन । मनमा सकारात्मक सोच ल्याउने र ती धेरै सोचलाई फिल्टर गरेर काम लाग्ने र आफ्नो हैसियत, दक्षता र योग्यता अनुसारको योजना र सोचलाई ब्यबहारमा उतार्ने आफैंले हो ।

जीवनमा सफल हुन आफ्नो मात्रै हैन अरु धेरै मानिसको सहायक भूमिका हुन्छ ।  धेरै कुराहरु जस्तै पैसा, वातावरण, पढाई, अनुभव आदिको भूमिका पनि हुन्छ । तर यी सबै सहायक हुन् । यी सबैको भूमिकालाई बढाउन, आफ्नो पक्षमा सदुपयोग गर्न र आफ्नो पहिचान बढाउन पनि आफ्नै भूमिका ठूलो हुन्छ ।

मानिसको पहिचान र सोचाई जोडिएका हुन्छन् । सोचाई नै सबै कुराको आधार हो । कुनै काम गर्नुभन्दा पहिले आफैले सकारात्मक सोच्नु जरुरी हुन्छ । सकारात्मक सोचाइले मात्रै राम्रो योजना बनाउन  सकिन्छ र राम्रो योजनाले मात्रै राम्रो काम गर्न सकिन्छ । राम्रो कामले मात्रै राम्रो पहिचान बनाउन सकिन्छ ।

मानिस आफैमा बाँच्नु पर्छ, आफैमा रमाउनु पर्छ । अर्थात, आफूसंग जे छ त्यसैमा रमाउनु पर्छ, त्यसैलाई उपयोग गरेर आफ्नो पहिचान बनाउनु पर्छ  र आफ्नो जीवन सहज बनाउनु पर्छ । आफैमा सन्तुष्ट हुनु भनेको पनि जीवन जिउने कला हो । खुसी अरुमा हैन आफैमा पाइने कुरा हो । त्यसैले पनि आफैले आफ्नो पहिचान गर्नु र त्यही अनुसार जीवन जिउने हो भने धेरै कुरा हरु सहज हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री