बाघ बढेसँगै संरक्षणमा चुनौती

दुर्लभ पाटेबाघ । तस्बिर सौजन्य – सागर गिरी, रासस

बाँके, १ कात्तिक – बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन् । बाघको सङ्ख्या बढेसँगै बाघ संरक्षणमा चुनौती थपिएको छ ।

“बाघको सङ्ख्या बढ्नु निकै राम्रो हो”, बाँके राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले भन्नुभयो, “सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको छ ।” उहाँका अनुसार बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको वृद्धि हुनैपर्ने देखिन्छ । उहाँले भन्नुभयो, “बाघको सङ्ख्या जसरी बढिरहेको छ, त्यो अनुपातमा आहारा प्रजातिको सङ्ख्या बढेन भने संरक्षणमा ठूलो चुनौती देखिनेछ । त्यसैले पनि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउनु नै हाम्रो प्राथमिकता हो ।”

बाँकेमा सन् २००८(विसं २०६५तिर) देखि बाघ गणना शुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ दखिएको थिएन । सन् २०१३(विसं २०७०तिर) मा भएको दोस्रो बाघ गणनाका क्रममा चार बाघ देखिएका थिए । सन् २०१८(विसं २०७५तिर) मा भएको तेस्रो गणनानुसार झण्डै पाँच गुणाले बाघको सङ्ख्या वृद्धि भई २१ पुगेको हो ।

एउटा बाघले एक वर्षमा औसतमा ६० वटासम्म शिकार गर्छ भने एक पटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ जुन एक हप्तासम्मका लागि हुन्छ । “निकुञ्जमा बाघलाई पुग्ने आहारा भए पनि बाघको वृद्धिदरलाई हेर्ने हो भने आहारा प्रजातिका वन्यजन्तुको संरक्षण गर्नैपर्ने देखिएको छ”, प्रमुख संरक्षण अधिकृत पुनले भन्नुभयो ।

चोरी शिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौती देखिएको छ । उहाँले भन्नुभयो, “निकुञ्जमा चोरी शिकार शून्यजस्तै छ तर वन्यजन्तु निकुञ्ज बाहिर निस्किँदा केही चुनौती रहे पनि हामीले सचेतनामूलक अभियान चलाएर न्यूनीकरणको प्रयास गरिरहेका छौँ ।”

चित्तल, चौका, बँदेल, रतुवालगायत आहारा प्रजातिको वन्यजन्तुको संरक्षण जरुरी रहेको उहाँको भनाइ छ । बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्या थप वृद्धिलगायत चुनौती रहेको बाँके निकुञ्जले जनाएको छ ।

जलवायु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्तराज काफ्लेले बाघको सङ्ख्या बढेकामा खुशी व्यक्त गर्दै भन्नुभयो, “बाघको आहारा प्रजातिका वन्यजन्तुको वृद्धि गर्नु अबको मुख्य काम हो ।” पाँच स ५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा बाघको सङ्ख्यामा उत्साहपूर्ण वृद्धि भएको उहाँले बताउनुभयो ।

संरक्षणकर्मी कृष्णलाल चौधरीले बाघको सङ्ख्या वृद्धि भएसँगै आहारा प्रजातिको संरक्षणसँगै बासस्थानको सुधारमा समेत लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बाघलाई जङ्गलमा सहजै शिकार गर्न सक्ने गरी आहारा प्रजातिको सङ्ख्यामा वृद्धि गर्नुपर्छ । त्यसो गर्न सकिएन भने संरक्षण चुनौतीपूर्ण छ ।”

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री