गान्धीको अहिंसाको सन्देश फैलाउन दुई वर्षसम्म विश्वभर जन्मजयन्ती मनाइने

गान्धीको १५० औँ जन्मजयन्ती सन्दर्भमा गान्धी अध्ययन तथा शान्ति केन्द्रले काठमाडौँमा सोमबार आयोजना गरेका …नेपालको शान्तिपूर्ण रुपान्तरणमा गान्धीको सान्दर्भिकता’ विषयक अन्तरक्रियामा गान्धीको तस्वीरमा माल्यार्पण गर्दै पूर्व राष्ट्रपति डा रामवरण यादव । तस्वीर – नवीन पौडेल, रासस

काठमाडौँ, २२ असोज – गान्धी दर्शनको महत्व वर्तमान सन्दर्भमा अझ बढेर गएकामा जोड दिइएको छ । गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेपालको शान्तिपूर्ण रुपान्तरणमा गान्धीको सान्दर्भिकता’ विषयक कार्यक्रममा प्रथम राष्ट्रपति डा रामवरण यादवले उहाँको योगदानको मूल्याङ्कन गर्दै संयुक्त राष्ट्र सङ्घले २ अक्टोबरलाई विश्व अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको सुनाउनुभयो ।

“प्रकृतिलाई बचाएर अन्य काम गरिनुपर्छ भन्ने गान्धी दर्शनको मूल भाव हो, नेपालको चुरे विनाश भए तराई क्षेत्र मरुभूमि बन्छ । चुरे र तराईमा नेपालको जनसङ्ख्याको ६० प्रतिशत जनता बसोबास गर्छन् । चुरेको बीचबाट राजमार्ग बनाउनु प्रकृति मैत्री हुँदैन,” उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भारतमा अहिंसाको जगबाट आएको प्रजातन्त्र दिगो भएको बताउनुभयो । “गान्धीले स्वाधीनता र स्वराज्य मेरो हो भन्ने भावना झुपडीका जनतामा जगाउनुभएको थियो, उहाँले राजनीतिमा नैतिकताको प्रवेश गराउनुभएको थियो, विश्व नै एक दिन गान्धीको बाटोमा हिँड्न बाध्य हुन्छ,” उहाँले भन्नुभयो ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले गान्धीले खराबीका विरुद्ध लड्ने अस्त्रका रुपमा सत्याग्रहलाई उपयोग गर्नुभएको सुनाउनुभयो । “जसका विरुद्ध लडिन्छ त्यसलाई घृणा नजगाई प्रेमपूर्ण तरिकाले गर्नु नै गान्धी दर्शन हो, नयाँ पुस्तामा गान्धी दर्शनको प्रसार गर्नु अहिलेको आवश्यकता बनेको छ,” उहाँले भन्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप गिरीले नेपालमा राजनीतिक परिवर्तनपछि आधारभूत संरचनामा बदली हुन नसकेकाले एउटी किशोरीको बलात्कारको मुद्दामा राज्य किंकर्तव्यविमूढ बनेको बताउनुभयो । सत्ता हस्तान्तरण भए पनि राज्य रुपान्तरण हुन नसकेकाले अहिलेका अनेका समस्या आइपरेको उहाँको भनाइ थियो ।

केन्द्रका अध्यक्ष दीपकुमार उपाध्यायले दुई वर्षसम्म गान्धी जयन्ती मनाउने तयारी गरिएको बताउनुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले गान्धीको अहिंसाको सन्देश फैल्याउन १५०औँ जन्मजयन्ती दुई वर्षसम्म विश्वभर मनाइने जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रका महासचिव शेखर गिरीलगायतले गान्धीको योगदानको चर्चा गर्नुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री