नेपालको कसैसँग शत्रुता छैन – प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली एसिया सोसाइटीले बुधबार न्यु योर्कमा आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्वीर – सुरेन्द्रबहादुर नेपाली, न्यु योर्क, रासस

न्यूयोर्क, १० असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाली जनताले राणा र शाहवंशका निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेको र अन्त्यमा उनीहरूलाई पराजित गरी संविधानसभामार्फत सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था स्थापना गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली जनताले वर्तमान लोकतान्त्रिक व्यवस्थाका लागि निकै ठूलो त्याग गरेको र धेरै शहीद भएको बताउँदै नेपालका सबै राजनीतिक दलले हतियार उठाएको स्मरण गर्दै अन्त्यमा बन्दुकको गोलीबाट नभइ जनताको मतबाट परिवर्तन र शान्ति आएको उल्लेख गर्नुभयो । उहाँले पूर्ण बहुमतको आफ्नो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को योजनालाई कार्यान्वयन गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा जलविद्युत्का लागि निकै ठूलो भण्डार रहेको र कुनै पनि लगानीकर्तालाई सही रूपमा यस क्षेत्रमा लगानी गर्न अवसर दिन सकिने बताउनुभयो । उहाँले पिस कर्प कार्यक्रम सञ्चालन गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै यो कार्यक्रम आरम्भ हुँदाको अवस्था अब नेपालमा नरहेको र निकै परिवर्तन भइसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले एक प्रश्नको उत्तरमा नेपालमा हिउँको तहले पृथ्वीको जमीन सिँच्न सहयोग गर्ने र समुद्रमा हुने प्रदुषणले बादलको रूपमा हिमाललाई पनि प्रदूषित पार्नसक्ने उदाहरण दिँदै नेपाली समाज विविधतायुक्त भएको र आफूले एकै परिवारमा १३५ सदस्य एकै स्थानमा बस्ने र हुर्कने गरेको समेत देखेको उल्लेख गर्नुभयो । उहाँले कुनै पनि मुलुकले नचाहेसम्म ऋणको भार नबोक्ने बताउँदै नेपालले पनि सकेसम्म अनुदान र नभए कम ब्याजको ऋण चाहेको बताउनुभयो ।

यस व्याख्यानको सञ्चालन अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले गर्नुभएको थियो ।

विश्वव्यापी परिस्थितिमा एशियाली तथा अमेरिकी जनता, नेता तथा संस्थाबीच आपसी समझदारी प्रवद्र्धन गर्ने तथा उनीहरूबीच साझेदारी बलियो बनाउने उद्देश्यले ‘एशिया सोसाइटी’ सन् १९५६ मा स्थापना भएको प्रमुख शैक्षिक संस्था हो । कला, व्यवसाय, संस्कृति, शिक्षा तथा नीतिका क्षेत्रमा यस सोसाइटीले अन्तर्दृष्टि प्रदान गर्छ, विचार सिर्जना गर्छ तथा वर्तमान चुनौतीलाई सम्बोधन गर्न सहयोग प्रवद्र्धन गर्छ र साझेदारीयुक्त भविष्य निर्माण गर्छ ।

यो गैरराजनीतिक र गैरनाफामूलक शैक्षिक संस्था हो र यसको कार्यालयहरू हङकङ, हस्टन, लस एन्जलस, मुम्बइ, न्यूयोर्क, सान फ्रान्सिस्को, सोल, साङ्घाइ, सिड्नी, टोकियो, वासिङ्टन डिसी तथा जुरिकमा रहेका छन् ।

नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैं पन्छाउने गरेको – प्रधानमन्त्री

न्यूयोर्क, १० असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कार्य’ (एक्सन फर पिसकिपिङ) को उच्चस्तरीय बैठकमा प्रधानमन्त्री ओलीले आज उक्त आग्रह गर्नुभएको हो । उहाँले हरेक द्वन्द्वको परिस्थिति फरक हुने र त्यसका लागि भिन्न उत्तर आवश्यक हुने बताउँदै द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्ने र घरमै तयार भएको, राष्ट्रले स्वामित्व लिएको र नेतृत्व दिएको राजनीतिक प्रक्रियाले दिगो शान्ति दिनसक्छ भन्ने कुरालाई नेपालले स्पष्टसँग प्रदर्शन गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना गर्ने ४५ अभियानमा एक लाख ३६ हजार सैनिक परिचालन गरेको र यस वर्ष नेपालले राष्ट्र सङ्घीय अभियानमा संलग्नताको ६० वर्ष मनाउँदै गरेको जानकारी दिनुभयो । उहाँले नेपालले राष्ट्रिय कठिनाइको समयमा पनि सैनिक तथा प्रहरी उपलब्ध गराई संयुक्त राष्ट्र सङ्घ वडापत्रको सिद्धान्त तथा उद्देश्यप्रति वचनबद्धता प्रकट गरेको स्मरण गर्दै कर्तव्यको रेखामा आफ्नो जीवनसमेत बलिदान दिने ७३ शान्ति स्थापक तथा बहादुर सैनिक प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले शान्ति प्रयासमा महिलाको पूर्ण समान तथा अर्थपूर्ण सहभागितामा त्यसको सफलताको प्रमुख तत्व हुने बताउँदै नेपालले शान्तिस्थापकको पेशागत क्षमता सुधार गर्न विश्वस्तरीय तालीम सुविधा उपलब्ध गराउने प्रस्ताव राख्नुभयो । उहाँले ‘संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति साझेदारीयुक्त वचनबद्धताको घोषणापत्र’ बाट शान्ति प्राप्त गरी फरक बनाउन चाहेको काम सम्पन्न गर्न सकिने भएकाले आफूले यसलाई समथर्न गरेको बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलेको ‘शान्ति स्थापनार्थ कार्य’ (एक्सन फर पिसकिपिङ) को प्रयास यसै वर्ष मार्च २८ मा आरम्भ भएको हो । शान्ति स्थापनाका प्राप्ति तथा भोगिएका चुनौतीका विषयमा समझदारी साझेदारी गर्नु तथा स्थगलगत रूपमा शान्ति स्थापना गर्ने कार्यलाई बलियो बनाउन सदस्य मुलुकको राष्ट्रगत तथा सामूहिक वचनबद्धता नवीकरण गर्नु एक्सन फर पिसकिपिङको उद्देश्य रहेको छ ।

‘संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति साझेदारीयुक्त बचनबद्धताको घोषणापत्र’ महासचिव गुटेरेसको पहलको एक भाग हो । उहाँले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति राजनीतिक समर्थन नवीकरण गर्न प्रयास गरिरहनुभएको छ । घोषणापत्रले शान्ति स्थापनार्थ कार्यको राजनीतिक प्रभाव विस्तार गर्न र यसले दिने सुरक्षालाई बलियो बनाउन विशेष वचनबद्धता प्रकट गर्छ ।

यो घोषणापत्र तयार गर्न सदस्य मुलुक तथा सम्बन्धित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरू परामर्श लिइएको छ । शान्ति स्थापनार्थ कार्यमा सुरक्षा परिषद्का सदस्य, सेना, प्रहरी तथा शान्ति स्थापना गर्न वित्तीय सहयोग गर्ने दाता, यस्तो कार्य गराउने मुलुकका सरकार तथा क्षेत्रीय तथा उपक्षेत्रीय संस्थाको वचनबद्धता यस घोषणापत्रमा समेटिएको छ ।

शिखरबैठक कक्षमा नेपाली टोलीको रूपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री