नेकपा अध्यक्ष दाहाल चीन प्रस्थान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल शनिबार चार दिने चीन भ्रमणका लागि प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै । तस्वीर – प्रदीपराज वन्त, रासस

काठमाडौँ, ३० भदौ – चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज चीनतर्फ प्रस्थान गर्नुभएको छ ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताउनुभयो ।

यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूहले पहल गर्ने उहाँले जानकारी दिनुभयो ।

फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीको जनवर्गीय सङ्गठन तथा प्रदेश र जिल्लाको एकताको विषयमा छलफल चलिरहेको र केही समयभित्रै निष्कर्षमा पुगिने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “म फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका विषयलाई निष्कर्षमा पुरयाइन्छ । दशैँअगावै एकताका सबै विषयलाई निष्कर्षमा पुरयाइन्छ । कुनै दुविधा रहँदैन ।” चीन भ्रमणको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्नुहुने कार्यक्रम छ ।

केही दिन पहिले भारत भ्रमणमा जानुभएका अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेट गरी नेपाल–भारत सम्बन्धमा विविध पाटाका बारेमा छलफल गर्नुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री