अन्तर्राष्ट्रिय विमान कम्पनी नेपालमा उडान थप्दै

नेपालको लागि आधिकारीक जीएसए व्यवस्थापनमा आइएमई ग्रुपले लिएको ओमानको पहिलो वजेट एयर सलाम एयरलाइन्सले पहिलोचोटी नेपालको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण संगै सेवा प्ररम्भ गरेको छ । उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल लगायत विमानस्थलमा सामूहिक तस्बिर खिच्दै । तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाडौँ, २६ भदौ – सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेपछि पछिल्लो समयमा अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालमा एकपछि अर्को उडान थप्दै लगेका छन् । थाइल्याण्डको थाइलाइन एयरले नेपालमा उडान शुरु गरेको दुई साता नबित्दै ओमनको सलाम एयरले आजदेखि काठमाडौँमा उडान शुरु गरेको छ ।

हाल विभिन्न ३२ अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले काठमाडौँमा उडान गर्दै आएका छन् । नेपालको व्यावसायिक समूह आइएमइले प्रवर्धन गरेको आइएमइ इन्टरनेशनल ट्राभल्सको संयोजनमा ओमनको सलाम एयरले काठमाडौँ उडान शुरु गरेको हो । कूल १७४ सिट क्षमता रहेको सो विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सस्तो भाडामा नै सेवा दिने लक्ष्यका साथ आफूहरूले ओमनको ‘बजेट एयरलाइन्स’ भित्र्याएको आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो । यात्रुले रु १६ हजार भाडा तिरेर ओमन उड्न सक्ने व्यवस्था गरिएको छ । सो एयरलाइन्सले आजदेखि नियमितरूपमा हरेक दिन बिहान ८ बजे अवतरण र ८.४० मा उडान भर्ने गरी तालिका मिलाइएको छ ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आइएमइ समूहका अध्यक्ष ढकालले सस्तो मूल्यमै जहाज चढेर ओमन जान आउन पाइने गरी व्यवस्था मिलाइएको बताउनुभयो । “वैदेशिक रोजगारीका लागि ओमन जाने नेपालीको सङ्ख्या पछिल्लो दिनमा बढ्दै गएको छ । सलाम एयरको उडान तालिकापछि सहज र सरल मूल्यमा हवाइयात्रा गर्न सहज व्यवस्था मिलाइएको छ”, अध्यक्ष ढकालले भन्नुभयो ।

ओमनको पहिलो बजेट एयरलाइन्सको रूपमा सन् २०१७ देखि व्यावसायिक उडान शुरु गरेको हो । सलाम एयरले मस्कटलाई केन्द्र बनाएर कूल १७४ सिट क्षमताको एयरबस ३२० जहाजले विभिन्न १५ स्थानमा उडान गर्दै आएको छ । काठमाडौँ उडान थपिएपछि सो विमान कम्पनीको १६ औँ गन्तव्य भएको हो ।

सलाम एयरले ढाका, बाकु, टिबलिस, दोहा, दुबइ, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दा, सलाला, सुहार, मस्कट र काठमाडौँमा उडान भर्नेछ । सलाम एयरले यात्रुको सुविधालाई मध्यनजर गर्दै तीन प्रकारका हवाइभाडा निर्धारण गरिएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने र सरकारको २०२० सम्मको पर्टयक पर्यटक भित्र्याउने लक्ष्य राखेकामा नयाँ विमान कम्पनीले सहयोग पुरयाउने विश्वास लिइएको छ । सो विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं चालक मोहम्मदले नयाँ गन्तव्यका रूपमा नेपालमा उडान भर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।

नेपाल र ओमन पुरानो सम्बन्ध भएको मित्र रहेको उल्लेख गर्दै उहाँले मित्रतालाई हवाइ उड्डयनमार्फत जोडिएकामा प्रशन्नता व्यक्त गर्नुभयो । कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको व्यस्त कार्यतालिकाबाट मिलाएर बिहानको समयमा उडान तथा अवतरणको कार्यतालिका मिलाइएको जानकारी दिनुभयो ।

उहाँले नेपाली कामदार लैजान मात्रै नभइ ओमनका पर्यटन भित्र्याउन समेत सो विमान कम्पनी सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । महाप्रबन्धक क्षेत्रीले भन्नुभयो, “सलाम एयरले सातामा सात होइन १४ उडान गरोस् भन्ने हाम्रो चाहना छ ।”

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री