थापालाई महारथीको दरज्यानी चिन्ह, प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत

Om Prakash Mishra CJ

सोमबार सिंहदबारमा संसदीय सुनुवाई विशेष समितिको बैठकमा सहभागी हुन जाँदै प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्र । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौँ, २४ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दरज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले रथी थापालाई महारथीको दरज्यानी चिह्न प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराउनुभयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित हुनुहुन्थ्यो ।

मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो ।

सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी तोकेको थियो ।

उहाँले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गर्नुभयो । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिनुभएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुनुभएको थियो ।

प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत

संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।

उक्त समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उहाँविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका सम्बन्धमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री