काठमाडौँ, १७ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर जानुभई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्नुभएको छ ।
प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्नुहुने परम्परा रही आएको छ । राष्ट्रपति भण्डारीले मन्दिरका पूजारीबाट फूल एवं प्रसाद ग्रहण गर्नुभयो ।
सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिर गोरखा भूकम्पबाट आंशिक क्षति पुगेकामा हालै मर्मतसम्भार गरिएको हो । मन्दिरको जीर्णोद्धार रु ५७ लाखको लागतमा काठमाडौँ उपत्यका संरक्षण कोषले गरेको हो । महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको पूजारी विष्णुधर राजोपाध्यायले जानकारी दिनुभयो ।
मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । दिउँसो दुई बजेसम्म दुई लाख ५० हजारभन्दा बढी भक्तजनले मन्दिरमा पूजा एवं दर्शन गरेको उहाँले बताउनुभयो । राति १२ बजे श्रीकृष्ण जन्म भएको सम्झनामा यहाँ विशेष कार्यक्रम हुने गरेको छ ।
तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला
ललितपुर, १७ भदौ – पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौँ उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् ।
विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन् । भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न नपाएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कृष्णाष्ठमीमा खुल्ला गर्नका लागि केही दिन पहिले मात्रै निर्माण सम्पन्न गरेका थियौँ ।’
कृष्णाष्ठमीका दिनमा वर्षेनी राष्ट्रप्रमुख दर्शनका लागि यहाँ आउने गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो २.३० बजे यहाँ आउनु हुने कार्यक्रम तय भएको छ । मन्दिरमा दर्शनका लागि आउने विशिष्ठ पाहुना र दर्शनार्थीको भीडलाई हेरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
बिहान २-३ बजेबाट नै दशनार्थी मन्दिर आइपुगेका थिए । बिहानीपखबाट भीड बढ्दै गएको चन्दले बताउनुभयो । एक पटकमा ८-१० जनासम्म दर्शनार्थीभित्र जाने गरी व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “बिहानसम्म एक-दुई घण्टामा फर्कन मिल्ने थियो, भीड बढ्दै जाँदा दर्शन गर्न बढी समय लाग्ला ।” गाबहालदेखि सुन्धारासम्म सवारी साधन चल्न दिइएको छैन ।
नेपाल प्रहरीसँगै नेपाल स्काउट र विभिन्न सङ्घ–संस्थाका स्वयंसेवक दशनार्थीको सहयोगका लागि खटिएका छन् । दर्शनार्थीलाई स्वास्थ्य समस्या आउँदा तत्काल उपचारका लागि स्वास्थ्य संस्था यस क्षेत्रमा खटिएका छन् ।
मन्दिर पुनःनिर्माणको क्रममा धेरै निर्माण सामग्री पुरानै प्रयोग भएको दरबार हेरचाह कार्यालयका प्रमुख प्याकुरेलले बताउनुभयो । यहाँ भएका फुटेर वा मक्किएर प्रयोग गर्न नमिल्ने अवस्थामा भएका सामग्रीबाहेक अरुलाई मर्मत गरेर प्रयोगमा ल्याइएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ । ढुङ्गै–ढुङ्गाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिन्छ । मन्दिरमा २१ गजुर रहेका छन् ।
१७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएका थिए । उनले कृष्ण मन्दिर बनाउनेसँगै कृष्ण लीलामा आधारित नाच सञ्चालन गरेका थिए । जसलाई कात्तिक नाच पनि भनिन्छ । कृष्ण मन्दिर तीन तला रहेको छ । बीचको तलामा कृष्णको मूर्ति रहेको छ । मूर्तिको वरिपरि बिष्णुका १० अवतार मूर्ति छन् । मन्दिरका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति कुँदिएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा