सार्कलाई गतिशील तुल्याउन श्रीलङ्का प्रतिबद्ध

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङगठन (सार्क) सचिवालय परिसरमा आइतबार बोधिचित्तको बिरुवा रोपेपछि जलसिञ्चन गर्दै । साथमा श्रीलंकाका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, सार्कका महासचिव अम्जद हुसेन बी सियाललगायत । तस्वीर – शरच्चन्द्र भण्डारी, रासस

काठमाडौँ, १७ भदौ – श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सार्क प्रक्रियालाई गतिशील तुल्याउन सक्दो सहयोग गरिने दृढता व्यक्त गर्नुभएको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयको आज निरीक्षण गरेपछि महासचिवसहित आठ वटै देशका निर्देशकसँगको अन्तक्र्रियामा उहाँले सदस्य मुलुकबीच भ्रातृत्वको भावना प्रवद्र्धन गर्दै सार्कका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि लाग्न आग्रह गर्नुभयो ।

राष्ट्रपति सिरिसेनाले क्षेत्रीय सहयोगलाई प्रभावकारी बनाउन सबै सदस्य एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सचिवालय परिसरमा उहाँले बोधिचित्तको बिरुवा रोप्नुभयो । सचिवालय भ्रमणका क्रममा सार्कका राष्ट्राध्यक्ष-सरकार प्रमुखले रोपेर झाङ्गिएका बिरुवा,सचिवालयमा रहेका सगरमाथा, लुम्बिनी नामक विभिन्न प्रेक्षालय र त्यहाँ राखिएका आठ वटै देशका कलासंस्कृति झल्कने चित्र एवम् तस्वीर तथा सार्कका पूर्वमहासचिवबारे पनि जानकारी लिनुभयो ।

सार्क सचिवालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उहाँले दक्षिण एशियाका जनताको हित प्रवद्र्धन गर्न क्षेत्रीय सहयोग र एकीकरणमा श्रीलङ्काले निरन्तर सहयोग गर्ने प्रतिबद्धताका साथ सदस्य देशको आर्थिक वृद्धि, सामाजिक प्रगति र सांस्कृतिक संवादमा जोड दिनुभएको छ । पुस्तिकामा उहाँले सार्कका महासचिव र सचिवालयमा कार्यरत सबै कर्मचारीको लगनशीलताको सराहना पनि गर्नुभएको छ ।

त्यसअघि सार्कका महासचिव अम्जद हुसेन बी सियालले सार्कको १९औं शिखर सम्मेलन चाँडोभन्दा चाँडो आयोजना गर्न सदस्य राष्ट्र्बीच सहमति जुट्ने विश्वास व्यक्त गर्दै १८औं शिखर सम्मेलनमा शीर्ष नेतृत्वले सार्कलाई गतिशील बनाउने निर्णय गरेको स्मरण गर्नुभयो ।

सार्कलाई प्रभावकारी एवम् परिणाममुखी तुल्याउन श्रीलङ्काले निरन्तर सहयोग गरेकामा श्रीलङ्काली सरकार र जनताप्रति आभार व्यक्त गर्दै महासचिव सियालले सार्क सांस्कृतिक केन्द्र स्थापनाका निम्ति १७ एकड जमीन र एक करोड अमेरिकी डलर उपलब्ध गराइएको बताउनुभयो ।

उहाँले सार्कको वर्तमान अध्यक्ष नेपालसहित सबै सदस्य देशले सचिवालयलाई निरन्तर साथ, सहयोग र समर्थन गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो । राष्ट्रपति सिरिसेनाको सोमबार पर्ने जन्मोत्सवको पूर्वसन्ध्यामा सार्क सचिवालयमा भएको उक्त कार्यक्रममा महासचिव सियालले राष्ट्रपतिको सुख, सुस्वास्थ्य र प्रगतिको कामना पनि गर्नुभयो ।

श्रीलङ्काका राष्ट्रपति स्वदेश प्रस्थान

श्रीलङ्काका राष्ट्रपति सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उहाँकी धर्मपत्नी जयन्ती पुष्पकुमारी यही भदौ १६ गतेदेखि नेपालको औपचारिक सद्भावना भ्रमणमा हुनुहुन्थ्यो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति सिरिसेना नेतृत्वको प्रतिनिधिमण्डल यही भदौ १३ गतेदेखि नेपाल भ्रमणमा थियो । राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिदाइ गर्नुभयो ।

राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा, श्रीलङ्काका लागि नेपाली राजदूत प्राध्यापक विश्वम्भर प्याकुरयाल तथा शिष्टाचार महापाल दीपक अधिकारीलगायतले श्रीलङ्काली राष्ट्रपतिलाई बिदाई गर्नुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री