बिम्स्टेक शिखर सम्मेलन आज, छवटै मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको आगमन

प्रधानमन्त्री केपी शर्मा ओली र बङगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच बिहीबार काठमाडौँमा द्विपक्षीय भेटवार्ता हुँदै । तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाडौँ, भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ ।

प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकले भाग लिँदै हुनुहुन्छ ।

सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनुहुने छ ।

शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नुहुने छ । सम्मेलनमा भाग लिन विशिष्ट अतिथि काठमाडौँ आइसक्नु भएको छ ।

काठमाडौँ घोषणापत्र जारी गर्दै भोलि अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्ने छ ।

राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नुभएको छ ।

उहाँहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गर्नुभयो ।

आजै शुरु हुने शिखर सम्मेलनपूर्व राष्ट्रपति भण्डारीले उहाँहरुको सम्मानमा दिवा भोजको आयोजना गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सो कार्यक्रममा सहभागी हुनुहुनेछ ।

बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आउनुभएको छ ।

बङ्गलादेशका प्रधानमन्त्रीको आगमन

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुग्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना हसिनालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

बङ्गलादेशका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स, बङ्गलादेशका लागि नेपाली राजदूत चोपलाल भुषालले स्वागत गर्नुभएको थियो ।

थाइल्याण्डका प्रधानमन्त्री काठमाडौँमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौँ आइपुग्नुभएका थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर – रत्न श्रेष्ठ, रासस

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुग्नुभयो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

थाइल्याण्डका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत तान्सकुल र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदी काठमाडौँमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौँ आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्वीर – रत्नकृष्ण श्रेष्ठ, रासस

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुग्नुभयो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा आज बिहान राजधानी आइपुग्नुभएका प्रधानमन्त्री हसिनासँग नेपाल–बङ्गलादेश सम्बन्धका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा पारस्परिक हित र चासोका साझा विषयका साथै बिम्स्टेक सम्मेलनबारे पनि छलफल भएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री