राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपतिबीच भेट, श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

राष्ट्रपति विद्यादेवी भण्डारीसंग म्यान्माका राष्ट्रपति विन मिन्तले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्वीर – रासस

काठमाडौँ, १३ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज साँझ राष्ट्रपति निवासमा शिष्टाचार भेट गर्नुभयो ।

सो अवसरमा नेपाल म्यान्मा सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको थियो ।

म्यान्माका राष्ट्रपति लुम्बिनीमा

म्यान्माका राष्ट्रपति विन मिन्त बुधबार बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा विशेष प्रार्थना गर्नुहुँदै । तस्वीर – भरत केसी, बुटवल, रासस

बुटवल, १३ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ ।

राष्ट्रपति मिन्टले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नाका साथै त्यहाँस्थित ‘मार्कर स्टोन’(सिद्धार्थ गौतमको पदचाप शिला) बारेमा जानकारी लिनुभएको थियो । उहाँलाई मायादेवी मन्दिर, लुम्बिनीको गुरुयोजना, इतिहास र पुरातत्वका बारेमा पुरातत्वविद् वसन्त बिंडारीले जानकारी दिनुभएको थियो ।

उहाँ मायादेवी मन्दिर परिसरमा विशेष प्रार्थनामा पनि सहभागी हुनुभयो । उहाँले लुम्बिनीका बौद्धगुरुहरुको सहयोगमा प्रार्थना गर्नुभएको थियो । उहाँ लुम्बिनीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीलगायत लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा राष्ट्रपति मिन्टको स्वागतमा आयोजित विशेष कार्यक्रममा संस्कृतिमन्त्री अधिकारीले विश्वका बुद्धधर्मावलम्बीका लागि लुम्बिनी महत्वपूर्ण गन्तव्य रहेको बताउँदै राष्ट्रपति मिन्टको भ्रमणले लुम्बिनीको विकासमा महत्वपूर्ण प्रेरणा मिल्ने र योजनाबद्धरुपमा यस क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनीको विकासलाई तीव्ररुपमा अघि बढाएर यहाँ आउने पर्यटकलाई विस्तार गर्ने कार्यमा नेपाल लागिपरेको उल्लेख गर्दै उहाँले केही दशकयता लुम्बिनी आउने तीर्थयात्रीको सङ्ख्यामा वृद्धि भएको र सन् २०२० मा लुम्बिनीको भ्रमण गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बुद्धधर्मावलम्बीको ऐतिहासिक पांचौं र छेटौं सम्मेलनमा विश्वका बुद्धधर्मावलम्बी एवं भिक्षुहरुलाई कूल जनसङ्ख्याको ८८ प्रतिशत जनसङ्ख्या बुद्धधर्मावलम्बी भएको म्यान्मामा भेला गराउन त्यहाँका प्रधानमन्त्रीले महत्वपूर्ण पहलकदमी लिएको पनि बताउनुभयो ।

मन्त्री अधिकारीले सन् १९६० देखि दुई देशबीचको सम्बन्ध स्थापना भएदेखि नै नेपाल र म्यान्माका उच्चस्तरका नेतृत्वले दुई देशको भ्रमण गरेर सम्बन्ध एवं आपसी विश्वासलाई अझ प्रगाढ बनाएको बताउनुभयो । सन् १९६७ मा संयुक्त राष्ट्र सङ्घका महासचिव म्यान्माका ऊ थान्तले लुम्बिनी भ्रमण गरेको स्मरण गर्दै मन्त्री अधिकारीले जापानका प्रा केञ्जो टाँगेले सन् १९७८ मा बनाएको गुरुयोजनानुसार लुम्बिनी क्षेत्रको विकास गर्नका लागि राष्ट्र सङ्घ र राष्ट्रसङ्घीय विकास कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याएको पनि उल्लेख गर्नुभयो ।

मन्त्री अधिकारीले सन् १९९७ देखि युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको लुम्बिनीमा म्यान्माको बौद्ध विहार रहेको समेत उल्लेख गर्दै गत आर्थिक वर्षमा म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीले लुम्बिनीको भ्रमण गरेको जानकारी दिनुभयो ।

मायादेवी मन्दिरको कार्यक्रमलगत्तै राष्ट्रपति मिन्तले लुम्बिनीमा रहेको म्यान्माको कलात्मक बौद्ध विहारको अवलोकन गर्नाका साथै प्रार्थनामा सहभागी हुनुभएको थियो ।

बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन मङ्गलबार नेपाल आउनुभएका राष्ट्रपति मिन्त आज बिहान बुद्ध एयरको विशेष विमानबाट गौतमबुद्ध विमानस्थल भैरहवा हुंदै नेपाली सेनाको हेलिकप्टरबाट लुम्बिनी आउनुभएको हो । बिहान करीब ११ बजे आइपुग्नुभएका राष्ट्रपति मिन्तले लुम्बिनीमा करीब चार घण्टा बिताउनुभएको थियो ।

नेपालभूटान भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र बिम्स्टेक बैठकमा सहभागी हुन नेपाल भ्रमणमा रहनु भएका भुटानका अन्तरिम सरकार प्रमुख तथा प्रमुख सल्लाहकार ल्योन्पो वाङचुकबीच औपचारिक भेटवार्ता हुँदै । तस्बिर – प्रदीपराज वन्त, रासस

प्रधानमन्त्री केपी शर्मा ओली र भूटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधान न्यायाधीश ल्यान्पो छिरिङ वाङचुकबीच आज द्विपक्षीय भेटवार्ता भयो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका क्रममा उहाँहरुबीच द्विपक्षीय वार्ता भएको हो ।

बिम्स्टेक शिखर बैठकमा भाग लिने सिलसिलामा प्रमुख सल्लाहकार वाङचुक आज बिहान काठमाडौँ आइपुग्नुभएको हो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–भूटान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा सहभागी हुन आउनुभएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाद्वारा दिएको सलामी ग्रहण गर्नुहुँदै । साथमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाडौँ, १३ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुग्नुभयो ।

राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । राष्ट्रपति सिरिसेनाको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत प्रस्तुत गरेको थियो ।

सो अवसरमा नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा, श्रीलङ्काका लागि नेपाली राजदूत प्राध्यापक विश्वम्भर प्याकुरयाल तथा शिष्टाचार महापाल दीपक अधिकारीले पनि श्रीलङ्काली राष्ट्रपतिलाई स्वागत गर्नुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री