भक्तपुर ११ भदौ – गाईजात्रा पर्वमा ‘घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचमा चरम विकृति भित्रिएको छ । प्राचीन नाचको रुपमा लिइने आकर्षक यो नाचलाई युवा पुस्ताले अश्लील शब्दको रुपमा परिणत गरेर गाउन थालेपछि संस्कृतिमा छाएको विकृति देखेर स्थानीय बासिन्दा तथा संस्कृतिकर्मीसमेत चिन्तित बनेका छन् ।
आज भक्तपुरमा मनाइएको परम्परागत गाईजात्रामा युगौँदेखि चल्दै आएको गीर्त घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग’ लाई बिगारेर अश्लिल शब्दहरुसमेत राखेर युवायुवतीले लाठी नाच नाचेपछि संस्कृतिकर्मीहरु समेत चिन्तामा परेका हुन् । परम्परागत संस्कृतिलाई जोगाउने जिम्मेवारी बोकेको युवापुस्ताले नै परम्परागत गीतलाई बिगारी अश्लील गीत बनाएर गाउन थालेपछि परम्परागत संस्कृतिमाथि युवा पुस्ताले प्रहार गरेको संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।
संस्कृतकर्मी धौभडेल भक्तपुरका बालकदेखि वृद्धसम्म र पुरुषदेखि महिलासम्मले नाच्दै आएका प्रसिद्ध गीतलाई बिगारेर अश्लील बनाइएकाले परम्परा लोप हुने र पछिल्लो पुस्ताले संस्कृतिको गलत अर्थमा बुझ्न सक्ने भएकाले युवा पुस्ताले यस्ता विकृतिलाई हटाउनुपर्ने बताउनुभयो ।
जात्रामा संस्कृतिको नाममा विकृति भित्रिएको पुराना पुस्ताले बताएका छन् । भक्तपुरका ८७ वर्षीय आशालाल चिंकबञ्जारले जात्रामा घिन्ताङघिसी गीतलाई बिगारेर अपशब्द र अश्लील शब्दसमेत प्रयोग भएकामा दुःख लागेको बताउनुभयो । “संस्कृति युवा पुस्ताबाटै बिगँ्रदै छ, युवा पुस्ताले नजोगाए संस्कृतिको अवस्था कस्तो होला” उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
जात्रामा युवतीहरूले प्रयोग गरेका आधुनिक एवं छोटा पहिरनले पनि जात्राको महत्व खस्काएको संस्कृतिकर्मीहरु बताउँछन् । संस्कृतिको नाममा विकृति भित्रिन थालेपछि जात्राको वास्तविक रूप जोगाउन जरूरी रहेको उनीहरु बताउँछन् ।
नाच नाचिरहेका कतिपय युवाले हातहातमा मदिराका बोतल लिएर आपसमा खाँदै खुवाउँदै अझ रहुसिएका देखिन्थे । हातमा मदिराका बोतल लिएर घिन्ताङघिसी नाचसँगै नाचेर थप विकृति भित्र्याएको भन्दै पर्यटन विकास समितिका अध्यक्ष दिवानचन्द्र धौभडेल चिन्ता व्यक्त गर्नुहुन्छ ।
बाँसुरी बाजा, घिन्ताङघिसी नाच, बाँसमा कपडाले बेरेर बनाइएको तामचा, माटो र पित्तलको गाईसमेत देखाई बजार परिक्रमा गरी सेलाउने परम्परा रहेको छ । गाईजात्रामा बैण्ड बाजासमेत बजाएर विकृति भित्र्याएको छ । बैण्ड बाजा यो जात्रामा बजाउने परम्परा छैन, तर केही वर्षयता यस्ता बाजाले ठूलै ठाउँ ओगट्न थालेपछि संस्कृति लोप हुने अवस्थामा पुगेको उनीहरु बताउँछन् ।
केही वर्षयता घिन्ताङघिसी नाचमा विदेशी पर्यटकको पनि बाक्लै सहभागिता हुन थालेको छ । पर्यटन प्रवद्र्धन गर्न स्थानीय युवा क्लबले सञ्चालन गरेको नाचमा विभिन्न देशका पर्यटकले हातहातमा लौरो लिएर घिन्ताङघिसी नाच नाचेका थिए । यसले जात्राको रौनक बढाउनुका साथै पर्यटनको विकास र पर्यटकलाई संस्कृतिको जानकारी दिन टेवा पुगेको पर्यटन विकास समिति भक्तपरका अध्यक्ष धौभडेलले बताउनुभयो ।
केही वर्षअघिसम्म महिलाले नाच्न नहुने परम्परा रहे पनि अहिले भने व्यापक रूपमा युवती तथा किशोरीले घिन्ताङघिसी नाच नाचेका छन् । यसवर्ष नाचमा बालबालिकाको पनि उल्लेख्य सहभागिता रहेको थियो । जात्राको आकर्षणको रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच र माक प्याखः अर्थात बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाचसमेत प्रदर्शन गरिएको छ ।
आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जीउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा छ । विभिन्न घरबाट निकालिएको जात्रा दरबार भक्तपुर क्षेत्र, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठडौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गर्दछन् ।
जात्रा समापनको क्रममा तौमढीबाट साँझ परालबाट बनेको तामचा र त्यससँगै भैरव नाचसमेत निकालिएको थियो । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तामचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य तामचा र सबैभन्दा पछि नकिंजु अजिमाको तामचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरवार क्षेत्र चोकमा तीनपटक परिक्रमा गरेपछि आजको जात्रा समापन भएको छ ।
यसपछि परालबाट बनेको भैरव र अजिमाको तामचा निस्किएपछि अन्य तामचा निकाल्न नहुने परम्परा रहेको छ । जात्रामा विभिन्न कार्टुन तथा व्यङ्ग्य चित्रसमेत हातहातमा बोकेर प्रदर्शन गरिएको थियो । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी समापन गरिन्छ । भोलिदेखिको जात्रामा भने अपराह्नपछि विभिन्न व्यङ्ग्य चित्र, कार्टुन र घिन्ताङघिसीलगायतका नाचहरू प्रदर्शन गर्ने परम्परा छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य