
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका राष्ट्र प्रमुख पाहुनाको स्वागतका लागि सिनामंगलमा बनाइएको स्वागत द्वार । तस्बिर- सिवी अधिकारी । रासस
काठमाडौँ, ११ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिम्स्टेक’ को चौंथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक मङ्गलबार काठमाडौँमा बस्दैछ ।
बैठकमा सहभागी हुन सदस्य राष्ट्रका परराष्ट्र-विदेश मन्त्रालयका सचिव आज साँझसम्म नेपाल आइपुग्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वरिष्ठ अधिकारीहरुको यो १९ औँ बैठक हो । उहाँहरुको स्वागतमा मन्त्रालयका सचिव शङ्करदास बैरागीले आज साँझ रात्रिभोजको आयोजना गर्नुहुनेछ । उक्त कार्यक्रममा उहाँहरुबीच मङ्गलबार बिहान बस्ने बैठकका बारेमा अनौंपचारिक छलफलसमेत हुनेछ । वरिष्ठ अधिकारीको बैठकमा शिखर सम्मेलनका सारभूत विषय, सिफारिस गर्ने विषयगत क्षेत्रगत र यस अघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुने मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिनुभयो ।
सो बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्र-विदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्ष-सरकार प्रमुखको शिखर सम्मेलन हुनेछ । वरिष्ठ अधिकारीको बैठकले सुझावसहित प्रतिवेदन मन्त्रिस्तरीय बैठकमा पेश गर्नेछ । उक्त सुझावमाथि भदौ १३ गतेको मन्त्रिस्तरीय बैठकमा छलफल हुने सहप्रवक्ता ढकालले बताउनुभयो ।
बैठकमा बिम्स्टेकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सहयोगका क्षेत्रलाई प्राथमिकताका आधारमा र समूहीकृत गर्ने, संस्थागत सुधार सुदृढिकरणलगायत विषयमा छलफल र परामर्श हुनेछ । मन्त्रिस्तरीय बैठकपश्चात भदौ १४ गते शिखर सम्मेलन शुरु हुनेछ । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले बिम्स्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै उहाँहरुको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।
सोही दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष-सरकार प्रमुखको सम्मानमा विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम छ । भदौ १५ गतेको सम्मेलन अघि शीर्ष नेताहरुबीच अनौपरिक भेटघाटसमेत हुनेछ । त्यसपछि औपचारिक बैठक हुने र घोषणा पत्र जारी हुनेछ ।
यस सम्मेलनमा नेपालले खासगरी सम्पर्क सञ्जाल विस्तार, बौद्ध परिपथ, हिमालय अर्थनीति, बिम्स्टेकको बडापत्र निर्माणलगायत विषयमा जोड दिने मन्त्रालयले जनाएको छ । बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बङ्गलादेश, भारत, म्यान्मा, श्रीलङ्का थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन् ।
बिम्स्टेकमा हाल व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतङ्कवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन गरी सहयोगका १४ क्षेत्र निर्धारण गरिएका छन् ।
शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनुहुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिखर सम्मेलनको अध्यक्षता गर्नुहुनेछ । जसमा पारस्परिक सहायताका क्षेत्रमा बिम्स्टेकले हालसम्म गरेका प्रगतिको समीक्षा हुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ । बिम्स्टेक सदस्य राष्ट्रमध्ये नेपाल र भुटान भूपरिवेष्टित् छन् । तसर्थ नेपालले अन्य पाँच सदस्य राष्ट्रसँग गहिरो सम्पर्क सञ्जाल बनाउने बारेमा समेत जोड दिने बताइएको छ ।
बिम्स्टेकको पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यान्मामा सम्पन्न भइसकेको छ । त्यसैगरी हालसम्म बिम्स्टेकका परराष्ट्रमन्त्रिस्तरीय १५ बैठक र वरिष्ठ पदाधिकारीस्तरीय १८ बैठक सम्पन्न भएका छन् । नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो । बिम्स्टेक क्षेत्रमा विश्व जनसङ्ख्याको झण्डै २१ प्रतिशत अर्थात् करीब डेढ अर्ब जनसङ्ख्याको बसोवास छ । सन् २०१४ मा यसको सचिवालय बङ्गलादेशको ढाकामा स्थापना गरिएको हो ।
सुरक्षा पूर्वअभ्यास
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पुरयाउन आज पूर्वअभ्यास गरिएको छ ।
यही भदौ १४ र १५ गते काठमाडौँमा हुने सम्मेलनमा भाग लिन आउने विदेशी विशिष्ट तथा अति विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पाहुना बस्ने होटल, सम्मेलनस्थलदेखि उहाँहरु जाने स्थानसम्म पूर्वअभ्यास गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा उक्त पूर्वअभ्यास भएको थियो । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, श्रीलङ्का, म्यान्मा, भुटानका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनुहुनेछ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले सरकारले तोकेअनुसार विशिष्ट र अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
“व्यक्ति अनुसारको सम्मानका लागि छुट्टाछुट्ट्रै सुरक्षा व्यवस्था तयार गरेका छौँ,”–उहाँले भन्नुभयो । गृह मन्त्रालयले सम्मेलनमा भाग लिन आउने पाहुनालाई अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७० अनुसार सुरक्षा योजना तयार गरेको जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख नेउपानेले बिम्स्टेक सम्मेलनको लागि आवश्यक सुरक्षा व्यवस्था पूरा भएको जानकारी दिनुभयो ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय