
काठमाडौँ, १० भदौ – काठमाडौँ उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार कूल दुर्घटनाको ९० प्रतिशतभन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको छ । आर्थिक वर्ष २०७४-७५ मा भएको छ हजार ३८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले मात्र पाँच हजार ९६१ दुर्घटना भएको छ ।
यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१, यान्त्रिक गडबडी ४४, उछिन्दा (ओभरटेक) २९, पैदलयात्रुको लापर्वाहीले तीन र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन् । दुर्घटनामा परी २१९ गम्भीर र चार हजार ३३३ सामान्य घाइते भएका छन् । महाशाखाका प्रमुख वसन्तकुमार पन्तले उपत्यकामा सवारी सङ्ख्या धेरै भएको र चालकले जथाभावी चलाउँदा धेरै दुर्घटना हुने गरेको जानकारी दिनुभयो । “बाटो साँघुरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ”-उहाँले भन्नुभयो ।
वाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै आठ लाख सवारी साधन ओहोरदोहोर गर्छन् । आव २०७४-७५ मा मात्र सवारी दुर्घटनाका कारण १९४ जनाको मृत्यु भएको थियो । दुर्घटना भएका सवारी साधनमध्ये दुईपाङ्ग्रे सवारी साधन धेरै छन् । आव २०७४-७५ मा दुर्घटनामा मरेका १९४ मध्ये १४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १११ छन् ।
तारकेश्वरमा प्रहरी अभियान
स्थानीय तारकेश्वर नगरपालिकाका टोलटोलमा प्रहरी अभियानको शुभारम्भ गरिएको छ । नागरिक प्रहरी समन्वय समिति, महानगरीय प्रहरी वृत्त बालाजु र सामुदायिक प्रहरी सेवा केन्द्र बालाजुको संयुक्त आयोजनामा शनिबारदेखि उक्त अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख मनोज नेउपानेले नागरिकको घरदैलो पुगेर सुरक्षा सचेतना दिने, सुरक्षामा समन्वय र सहकार्य अभिवृद्धि गर्ने, अपराध अनुसन्धान तथा रोकथामजस्ता प्रहरी सेवामा प्रभावकारिता ल्याउन कार्यक्रमले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्तकुमार लामाले समाजमा शान्ति सुरक्षा कायम गर्न सामुदायिक संस्थालगायत नागरिक समाजको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । नागरिक प्रहरी समन्वय समितिका संयोजक रामेश्वर देवकोटा, तारकेश्वरका उपप्रमुख भवानी डोटेल, तारकेश्वर–११का वडाध्यक्ष विन्दा बुढाथोकीलगायतले सुरक्षित समाज निर्माणका लागि प्रहरीसँगको सहकार्य सकारात्मक रहेकामा जोड दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक