काठमाडौँ, ९ भदौ – दुई हजार ३५६ मेगावाट क्षमताका करीब १०७ वटा आयोजना निर्माणको चरणमा रहेको पाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणकाअनुसार ती आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । वित्तीय व्यवस्थापन गरी निर्माणमा रहेका ती आयोजनामध्ये अधिकांश आगामी वर्ष निर्माण सम्पन्न गर्ने जानकारीसमेत प्राधिकरणलाई गराएका छन् ।
प्राधिकरणले ३३ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको विवरणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न हुने चरणमा छ । सो आयोजना आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही समय पर सर्ने देखिएको छ ।
यस्तै चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले केही दिन पहिले सुरुङ निर्माणको काम सम्पन्न गरेको छ । विद्युत् गृहलगायत निर्माणको काम जारी रहेको छ । यस्तै १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन, ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन पनि निर्माण सम्पन्न हुने चरणमा रहेको जनाएको छ ।
सरकारी स्वामित्व र निजी लगानीका अधिकांश आयोजना आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम भइरहेको प्राधिकरणलाई जानकारी गराएको उक्त विवरणमा उल्लेख छ । यस्तै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए यसै वर्ष सम्पन्न हुने आयोजनाका रुपमा रहेका छन् । प्राधिकरणका अनुसार आगामी आवको अन्त्यसम्म नेपालको कूल जडित क्षमता दुई हजार २७४ मेगावाट बराबर पुग्नेछ ।
प्राधिकरणले नै प्रक्षेपण गरेको तथ्याङ्कका आधारमा वार्षिक १० प्रतिशत मात्रै विद्युत्को माग बढेको खण्डमा पनि एक हजार ७५० मेगावाटको हाराहारीमा मात्रै विद्युत् माग पुग्नेछ । तर नेपालका अधिकांश आयोजना नदी प्रवाही भएका कारण वर्षामा बढी विद्युत् उत्पादन हुने र हिउँदमा कममात्रै विद्युत् उत्पादन हुने भएकाले हिउँदमा भने विद्युत् व्यवस्थापन गर्न अझै केही समस्या पर्ने देखिन्छ ।
सरकारले आगामी तीन वर्षभित्र तीन हजार मेगावाट र आगामी पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । निर्माणमा रहेका र सम्पन्न हुने चरणमा रहेका आयोजनाको हिसाबमा हेर्दा सरकारको लक्ष्य सहजै पूरा हुने देखिन्छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निर्माणाधीन आयोजनालाई समयमै सक्न मन्त्रालयले आवश्यक सहजीकरण गरिरहेको र कुनै पनि समस्या हुने नदिने प्रतिबद्धता जनाउनुभएको छ ।
यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियमितरुपमा आयोजनाको अनुगमन तथा अनावश्यक सहजीकरण गरिरहनुभएको छ । “हामीलाई उपलब्ध गराइएको विवरणअनुसार नै काम भएको खण्डमा सरकारको लक्ष्य सहजै पूरा गर्न सकिन्छ” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
सोही अवधिमा वार्षिक १० प्रतिशतका आधारमा विद्युत् माग एक हजार ७५० मेगावाट पुग्ने प्रक्षेपण छ । देशमा विद्युत् माग बर्खामा कम र हिउँदमा बढी हुने गरेको छ भने उत्पादन ठीक उल्टो छ । निर्माणाधीन र अब निर्माणमा जाने आयोजनाबाट अबको पाँच वर्षमा कूल जडित क्षमता करीब चार हजार ५०० मेगावाट पुग्ने अनुमान छ ।
यस्तै, माग वार्षिक १० प्रतिशतका दरले दुई हजार ५६० मेगावाट पुग्ने देखिन्छ । सरकारले आगामी पाँच वर्षभित्र देशका सबै क्षेत्रमा विद्युत्को पहुँच पुरयाउने वाचा गरेको छ । यसका लागि बायोग्यास, सोलार, हावालगायत स्रोतको पनि उपयोगलाई प्राथमिकता दिइएको छ । यसका साथै फोहरबाट समेत विद्युत् उत्पादन शुरु भएको छ ।
वित्तीय व्यवस्थापनको पर्खाईमा ७४ आयोजना
प्राधिकरणका अनुसार वित्तीय व्यवस्थापनको पर्खाईमा ७४ आयोजना रहेका छन् । ती आयोजनाको क्षमता एक हजार ६५८ मेगावाट रहेको छ । ती आयोजना पनि समयमै वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने पर्खाईमा छन् ।
प्राधिकरणले दुई साना जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता रद्द गरेको छ । त्यसमा नारायणी शङ्कर बायोमास र तामे खोलाको सम्झौता रद्द गरेको हो । यस्तै बीमामा बदमासी भएको पाइएकाले ३० मेगावाट क्षमताका १० आयोजनालाई सचेत गराएको छ ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने