कञ्चनपुर घटना उग्र बन्दै, सत्यतथ्य छानबिन गर्न नेकपाको आग्रह

कञ्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको वास्तविक दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँको माइतिघर मण्डालाबाट बानेश्वरसम्म शनिबार निकालिएको रयालीमा सहभागीहरु । तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाडौँ, ९ भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालयको आकस्मिक बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र सामाजिक रुपमा विकृति फैलाउन खोज्ने प्रवृत्तिको समेत सुक्ष्म छानबिन गरी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको हो ।

तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर केही दिनदेखि कञ्चनपुर तनावग्रस्त रहँदै आएको छ । सोही विषयलाई लिएर आज नेकपा सचिवालयको आकस्मिक बैठक बसेको हो ।

बैठकपछि पार्टीका नेता नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षामा खतरा पार्ने घटना भइरहेकाले त्यसप्रकारको घटना हुन नदिन विशेष पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सामाजिक रुपमा भएका त्यस्ता आपराधिक घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउने र पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न समेत बैठकले आग्रह गरेको छ ।

अनुसन्धानलाई व्यापक, विश्वसनिय र प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ । सामाजिक मूल्य मान्यतामा विकृति भित्रिएको, शान्ति सुरक्षामा खलल पार्ने काम भइरहेको सवालमा सबैलाई एकताबद्ध भएर सहकार्य गर्न अपिल गर्ने निर्णयसमेत बैठकले गरेको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै जनचेतना तथा जागरण फैलाउन आम रुपमा आग्रह गर्दै बैठकले दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको प्रक्रियामा ल्याउन र सहजीकरण गर्न सबैलाई आग्रह गरिएको छ ।

यस्तै नेकपाका नेता लेखराज भट्टले एक विज्ञप्तिमार्फत स्वतन्त्र उच्च स्तरीय छानबिन समिति गठन गर्न आग्रह गर्नुभएको छ । स्थानीय प्रहरी प्रशासनमाथि आम जनताको विश्वास र भरोसा टुट्ने अवस्था आउन नदिनसमेत उहाँले आग्रह गर्नुभएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको सन्दर्भमा उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कडा कारवाही गर्न नेता भट्टले माग गर्नुभएको छ ।

अनिश्चितकालीन कफ्र्यु, एकको मृत्यु, पाँच घाइते

भीमदत्तनगर, ८ भदौ – कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाएको जानकारी दिनुभयो । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । यहाँको ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ भने गोली लागेर घाइते भएका पाँच जनालाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीहरुले मृतकको विषयमा धारणा व्यक्त गर्न मानेका छैनन् ।

शुक्रबार दिउँसोसम्म सामान्य बन्दै गएको भीमदत्तनगर एकाएक अशान्त बनेपछि पुनः प्रशासनले कफ्र्यु लगाएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । आन्दोलनका कारणस्थिति जटिल बनेपछि प्रशासनले बिहीबार पनि बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कफ्र्यु लगाएको थियो ।

बालिका निर्मलाको गत साउन १० गते हत्या भएको थियो । उनको शव साउन ११ गते उखुबारीमा भेटिएयता कञ्चनपुरको भीमदत्तनगरमा चरणबद्ध आन्दोलन हुँदै आएको छ । घटनाको छानबिनका लागि गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय टोली शुक्रबार बिहान भीमदत्तनगर पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री