
यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न जान लागेका नेपाली क्रिकेट टोलीको बिदाईपछि सोमबार सभामुख कृष्णबहादुर महरासँग उहाँको सरकारी निवासमा सामूहिक तस्वीर खिचाउँदै । तस्बिर- कुमार चौलागाई, रासस
काठमाडौँ, ४ भदौ – यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ ।
नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । नेपालले पहिलो अभ्यास खेल बुधबार श्रीलङ्काको आर्मी क्रिकेट टोलीसँग पानागोडामा खेल्नेछ । दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग उसैको मैदानमा खेल्नेछ । अन्तिम अभ्यास खेलमा नेपालले कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ ।
नेपाली टोलीलाई सभामुख कृष्णबहादुर महराले जितको शुभकामनासहित आज बिदाइ गर्नुभयो । उहाँले प्रतियोगितामा विजयी बन्दै एशियाकप खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । सभामुख महराले केही समयअघि एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गरेको उत्कृष्ट प्रदर्शनले आफू अत्यन्त खुशी भएको बताउँदै नेदरल्याण्डस्सँगको खेल जस्तै मलेसियामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई आग्रह गर्नुभयो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पछिल्लो समय वर्षाका कारण प्रशिक्षणमा केही समस्या भए पनि श्रीलङ्कामा हुने अभ्यास खेलले नेपालको प्रदर्शनमा सुधार हुने बताउनुभयो । प्रतियोगितामा सहभागी हुने सबै टोली उत्कृष्ट रहेको बताउँदै उहाँले नेपालको लक्ष्य एशिया कपका लागि छनोट हुने रहेको प्रतिक्रिया दिनुभयो ।
कप्तान पारस खड्काले प्रतियोगिता जित्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । “एक दिवसीय मान्यता पाइसकेको नेपालका लागि प्रतियोगिता जित्नुपर्ने दबाब छ, हाम्रो लक्ष्य पनि प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग खेल्ने नै हो”, कप्तान खड्काले भन्नुभयो । छोटो समय भए पनि नयाँ ब्याटिङ प्रशिक्षकबाट नयाँ प्राविधिक कुरा सिक्ने मौका पाएको बताउँदै कप्तान खड्काले बलिङ, ब्याटिङ र फिल्डिङमा राम्रो प्रदर्शन गर्न सके प्रतियोगिता जितिने बताउनुभयो ।
एशिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित युनाईटेड अरब इमिरेटस ( युएइ), हङ्कङ, सिङ्गापुर र ओमानसँग प्रतिष्पर्धा गर्नेछ । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएइसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिङ्गापुरसँग भदौ १७ र हङ्कङसँग भदौ १९ गते खेल्नेछ ।
प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् भने उक्त प्रतियोगिता विजेताले यही भदौ २८ गतेदेखि युएईमा हुने एशिया कपमा सहभागिता जनाउन पाउनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । छनोटको बिजेताले एशिया कपको समूह ‘ए’ मा रहेको भारत र पाकिस्तानसँग समूह चरणको खेल खेल्नुपर्नेछ ।
नेपाली टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुशन भारी छन् । वेस्ट इण्डिजमा त्यहाँको घरेलु लिग खेलिरहेका सन्दीप लामिछाने भने अभ्यास खेलमा सहभागी हुने छैनन् । उनी वेस्ट इण्डिजबाट प्रतियोगिता खेल्न सिधैँ मलेसिया आउने छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?