काठमाडौँ-मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिए ।
उनका अनुसार सोमबार राति काठमाडौँसहित मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । बुधबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । वर्षा भए पनि भारी वर्षाको सम्भावना नरहेको मौसमविद अर्यालको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने तथा पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ ।
भोलि मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ । राति पश्चिम तथा मध्यका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
सोमबार काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भएको छ । महाशाखाको विवरणअनुसार आज काठमाडौँमा ४४ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै नेपालगञ्जमा ६४, ओखलढुङ्गामा ५६ र वीरेन्द्रनगरमा ४६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सिमरामा ३६, पोखरामा २६, दाङमा २५ र विराटनगरमा १९ मिलिमिटर वर्षा भएको छ । लगातारको वर्षाका कारण आज काठमाडौँ र ललितपुरका लुभू, गोदावरी खोलालगायत केही स्थानमा डुबान तथा बागमती, विष्णुमती, इच्छुमती, मनोहरा र हनुमन्तेमा पानीको बहाव बढेको छ ।
देशभर मध्यम वर्षा
मनसुन न्यूनचापीय रेखा नेपालतर्फ रहेकाले विगत तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । मौसमविद् अर्यालको भनाइमा मौसमी मापदण्डअनुसार उच्च पहाडी र हिमाली भेगबाहेक ५० मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई मध्यम र ५० भन्दा माथि गएमा भारी वर्षा मानिन्छ ।
एक सय मिलिमिटरभन्दा माथि भएमा अत्यधिक वर्षा मानिन्छ । अहिले सरदर देशभर मध्यम खालको र मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षा भएको छ । काठमाडौँमा भएको वर्षा पनि भारी वर्षाकै हाराहारीमा हो ।
प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना
लगातारको वर्षाका कारण देशका प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा-बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
शाखाले आज तीन दिनसम्मको बढी बुलेटिन निकालेर कमला, बागमती, कन्काईलगायतका नदीमा बहाब सतर्कता तह आसपास पुग्ने पूर्वानुमान भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, झापा, मोरङ, सिन्धुलीलगायत जिल्लाको चुरे र पहाडबाट बहने नदीहरुमा आकस्मिक बाढीको सम्भावना भएकाले सर्तक रहन आग्रह गरिएको छ । साथै, बबईलगायत नदीमा बहाव उच्च रहेकाले थप बढ्ने खरता छ । पहिरोग्रस्त क्षेत्रमा सतर्क अपनाउन भनिएको छ ।
देशैभर पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना भएकाले साना खोलामा समेत बहाव एक्कासि बढ्न सक्ने भएकाले सतर्क रहन शाखाले आग्रह गरेको छ । भोलि देशका प्रायः प्रमुख नदीहरुमा पानीको सतह घट्दो क्रममा हुने भए पनि बहाव उच्च नै हुने हुँदा सतर्कता अपनाउन भनिएको छ । बुधबारबाट प्रायः नदीहरुमा बहाव सामान्य हुने शाखाको पूर्वानुमान छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा