हामी सबैले जानेमानेका बुद्धिजीबी तथा लेखक खगेन्द्र संग्रौला २४ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत शाखाद्धारा आयोजित कार्यक्रमको बिशेष अतिथि भएर संयुक्त अधिराज्य आएका छन् । संग्रौला एक प्रसिद्द साहित्यकार हुन् । उनको ‘जुनकिरीको गीत’ उपन्यास निकै चर्चा कमाएको कृति हो । पचासको दशकतिर कम्युनिष्ट खेमाभित्र संग्रौलाको सो उपन्यास बहसको विषय हुने गर्दथ्याे । ‘बाल्यकालका पदचापहरु’, ‘आफ्नै आँखाको लयमा’, ‘मंगलीको अधुरो “क”‘ उनीद्वारा लिखित चर्चित कृतिहरु हुन् । उनले थुप्रै उत्कृष्ट चिनियाँ कथाहरु पनि उल्था गरेर नेपाली साहित्यलाई दिएका छन् । ‘युवाहरुको गीत’, ‘प्रथम गुरु’, ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ उनले अनुवाद गरेका केही पुस्तक हुन् । उनी निबन्धात्मक आख्यान लेखनमा माहिर छन् । उनको भाषण गर्ने शैली पनि पृथक छ । लयात्मक शैलीमा व्यङ्ग्य गर्न पोख्त छन् उनी । मञ्चमा बोल्दा दर्शन र सिद्दान्तको पाटोभन्दा समसामयिक राजनैतिक विसंगतिको उछितो काढ्नु यिनको रोजाइको विषय हो । समसामयिक राजनैतिक विकृति र विसंगतिको पक्षलाई अभिव्यक्त गर्दा कलात्मक शैली प्रयोग गर्ने भिन्न खुबीका कारण सत्ताइतरका जनहरूका मनहरुमा उनले राज गरेका छन् । सत्ताइतरका जनहरु नै उनको रोजाईमा परेका कारण उनी अधिकार कर्मीहरुसंग सडकहरुमा समेत देखिन्छन्, सायद यही कारण यसपटक आयोजक पक्षले उनलाई बेलायत यात्राको निम्तो दिएको हुनुपर्छ ।
बेलायत यात्रा उनको यो पहिलो रहेछ । यहाँ उनले धेरै कुरा देख्ने छन् , रमणीय ठाउँहरु हेर्ने छन् । नेपाली साहित्यकारहरुले घुम्न मन पराउने ठाउँहरु यहाँ धेरै छन् । ब्लूमसबरी लन्डनमा रहेको दुइसय वर्ष अगाडि सन् १७५३ ताका स्थापना भएको ब्रिटिश संग्रहालय आगन्तुकहरुको लागि गन्तब्य स्थल हो । ८० लाख भन्दा बढी हेर्न र जानकारी लिन लायकका सामग्रीहरु यहाँ रहेका छन् । बिश्वबिख्यात लेखक विलियम शेक्सपियरको जन्म घर जानै पर्ने ठाउँ मध्ये एक हो । सन् १५६४ मा इंगलैंडको स्टार्टफोर्ड अपोंन ऐभन भन्ने ठाउमा जन्मिएका शेक्सपियरका कृतिहरु आज चार सय वर्षपछि पनि संसारभरि नै प्रसिद्द छन् । उनले ३७ भन्दा बढी नाटकहरु लेखेका थिए । उनका बहुचर्चित नाटकहरुमा म्याक्बेथ, रोमियो तथा जुलिएट र हम्लेट हुन् । उनले लेखेका १ हजार ६०९ कविताहरुमध्ये १५४ वटा सोनेटहरुको संग्रह प्रकासित छ । अर्का अंग्रेजी साहित्यकार चार्ल्स डिकेंसको जन्मथलो पनि घुम्न जानुपर्ने स्थान हो । चार्ल्स डिकेंस क्लास्सिक अंग्रेजी साहित्यमा उच्च नाम भएका साहित्यकार हुन् । उनी इंगलैंडको पोर्ट्समाउथ भन्ने ठाउँमा सन् १८१२ मा जन्मेका थिए । उनले १५ वटा उपन्यास र सयौँ कथाहरु लेखेका थिए ।
आज भन्दा ९२२ वर्ष अघि स्थापना भएको ऑक्सफोर्ड विश्वविद्यालय र सन् १२०९ मा स्थापना भएको कैम्ब्रिज विश्वविद्यालयसम्म पुग्न सके राम्रै हुन्छ । तर हाम्रा कुन्साङ काकालाई यी ठाउँहरु मात्र घुमेर पुग्दैन । उनले कम्तिमा स्कटल्याण्ड र नर्दन आयरल्याण्ड जानै पर्छ । किनभने एउटा प्रगतिशील साहित्यकारको काँधमा अर्को जिम्मेवारी पनि थपिएको छ । नेपाली समाजमा २५० वर्षदेखि उत्पीडनमा पारिएका आदिवासीहरुको मुक्तिको पक्षमा कलम चलाउन र उनीहरुको पक्षमा बोलिदिन गरिएको आग्रह हो, उहाँलाई बेलायत निम्त्याएर आदिवासीहरुले गरेको सत्कार । त्यसैले यो यात्राबाट संग्रौलाले स्कटल्याण्ड र नर्दन आयरल्याण्डबाट पनि केही सिकेर जानु पर्दछ भन्ने मेरो आग्रह छ ।
बेलायत एकात्मक मुलुक हो । चारवटा राज्यहरु मिलेर संयुक्त राज्य बनेको छ । हामी नेपालीहरुले बेलायत भनेर पुकार्ने मुलुकको संबैधानिक नाम हो युनाइटेड किंगडम अफ ग्रेट ब्रिटेन एण्ड उत्तरी आयरलैंड अर्थात् छोटकरीमा युके । वेल्श भाषी सेल्टिक जातिहरुको वेल्श राज्य, स्कटिस जातिहरुको स्कटल्याण्ड राज्य, आइरिस जातिहरु आयरल्याण्ड राज्य र इंगलिसहरुको इंगल्याण्ड राज्य मिलेर १८ औ शताब्दीमा निर्माण भएको एकात्मक राज्य भए पनि यहाँ स्वायत्तता ( autonomy ) को प्रयोग उच्चतम रुपमा भएको पाइन्छ । तिनका आ-आफ्नै झण्डाहरु छन् । हुन् त युकेको राष्ट्रिय झण्डामा चारैवटा राज्यको प्रतिनिधित्व भएको छ । हाम्रो नेपाली झण्डाले सूर्यवंश र चन्द्रवंशको बाहेक अरुको प्रतिनिधित्व गर्नसक्ने ब्याख्या छैन । सेतो पृष्ठभूमिमा रातो क्रसले वेल्स र इंगलैंडको, निलो पृष्ठभूमिमा सेतो साल्टायर अर्थात् सेंट एंड्रयू क्रॉसले स्कटल्याण्डको र सेतो पृष्ठभूमिमा रातो साल्टायर अर्थात् सेंट पैट्रिक क्रॉसले आयरल्याण्डको प्रतिनिधित्व गर्दछ । तिनका आ-आफ्नै राज्यका भाषाहरु छन् । आयरल्याण्ड र स्कटल्याण्डले आफैँ पैसा छाप्न पाउने अधिकारसम्म उनीहरुलाई छ । सन् १९१४ मा स्कटल्याण्डको माग अनुसार संयुक्त राज्यमा नै बस्ने कि स्वतन्त्र हुने भनेर जनमत संग्रह भयो । युरोपियन युनियनबाट युके हटे पनि स्कटल्याण्डले युरोपियन युनियनसंग एकल बजारको लागि संगै बस्न सक्ने फर्स्ट मिनिस्टर निकोला स्टर्जनले बताइसकेकी छन् ।अर्थात् युके सरकारले गरेका सबै निर्णयहरु स्वायत्त राज्यहरुलाई बाध्यकारी हुँदैन ।
एकात्मक मुलुकले त राज्यहरुलाई यति धेरै स्वायतता प्रदान गरेको छ भने संघीयतामा गएको मुलुकले जातिय, क्षेत्रीय ,लिंगीय, भाषिक उत्पीडनको अन्त्य हुने गरी किन राज्यको पुनर्संरचना गर्नसकिरहेको छैन ? पहिचानको आधारमा राज्यहरुको नामकरण गर्न शासकहरु किन टाउको दुखाउँदैछन् ? एेतिहासिक भूगोल,भाषा, सस्कृति, परम्परा, रितिरिवाज भएका आदिवासी जातिहरुले पहिचानजनित प्रदेशहरुको नामकरणको माग भैरहेको बेला स्थानीय निकायको पुनर्संरचना र नामकरण भयो तर उही २०१९ सालमा राजा महेन्द्रले बनाएको ७५ जिल्ला र १४ अञ्चलकै मानसिकता बोकेर । एउटै प्राकृतिक भूगोलमा बस्ने अल्पसंख्यक जातिहरुलाई विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा बाँडिएकै छ । जस्तो चेपांग बस्ती नै हेरौं, ६८ हजारको हाराहारीमा रहेका चेपांगहरुलाई धादिङ, गोरखा, मकवानपुर, तनहुँ र चितवन जिल्लामा बाँडिदिए पछि त्यो अल्पसंख्यक जातिले कहिले निर्वाचित भएर स्थानीय देखि केन्द्रसम्म आउने ? स्थानीय निकायको नामकरणमा पनि यस्तै भयो । पहिला कतिपय स्थानीय निकायको नाम एेतिहासिक जातिको जातीय पृष्ठभूमि र स्थानीय भाषा आदिका आधारमा थियो । जस्तो एउटा उदाहरण लिउँ, भोजपुर जिल्लाको । यस जिल्लाको उत्तरतिर पर्ने गाउँ विकास समितिको नाम साम्पाङ थियो । साम्पाङ नाम किरातीहरुको एउटा पाछा (थर) र भाषिक परिवार हो । स्थानीय निकायको पुनर्संरचना गर्दा बर्सौदेखिको यो इतिहास मेटियो । बहुसंख्यक साम्पाङ राईहरुको अपनत्वको भावना नै नआउनेगरी एकजना व्यक्ति षडानन्द अधिकारीको नाममा नामकरण गरिएको नगरपालिकामा साम्पाङ गाबिसलाइ विलय गरियो र एउटा वडाको हैसियत साम्पाङले प्राप्त गर्यो । यसरी साम्पाङ पहिचानजन्य नाम समाप्त पार्ने काम भयो । यो एउटा उदाहरण मात्र हो ।
जनयुद्ध र जनआन्दोलनबाट आएका शक्तिका आगाडि जनताले प्रतिरोध गर्न सकेनन् । तर त्यसरी समाप्त पारिएका एेतिहासिक नामहरुलाई पुन: ब्यूताउन सक्ने आधार र सम्भावना हामी युकेमा देख्छौँ । युकेको स्थानीय संरचनाको नामकरण अंकमा छैन, जस्तो वडाको नाम पनि नामबाट नै हुन्छ । हाम्रो जस्तो अंकमा हुँदैन । युकेमा मेराे संसदीय निर्वाचन क्षेत्रको नाम हो बेक्सली एण्ड क्रेफोर्ड र वडाको नाम हो नर्थइन्ड । यदि हामीले बेलायतको स्थानीय निकायको नामकरण जस्तै हाम्रा स्थानीय निकायहरुलाइ अंकबाट नाममा रुपान्तरण गर्ने हो भने स्थानीय निकाय पुनर्संरचना गर्दा हराएका नामहरुलाई पुन:ब्युताउन सक्छौँ ।
कुन्साङ काकाले बेलायत बसाइमा यी सबै तथ्यहरुलाई आफ्नो डाइरीमा एक -एक टिपोट गर्न सक्नु भयो भने हाम्रा शासकहरुको कान भर्न पुग्ने प्रशस्त सामाग्रीहरु लिएर फर्कन सक्नु हुनेछ ।
लेखक – खस अन्तर्राष्ट्रिय समन्वय समाजका संयोजक हुन् ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट