मोतीसर चोक–चन्द्र माविसम्मको बाटो ‘प्रचण्डपथ’ नामकरण

कलैया-नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई असफल पार्ने र नेकपाको एकता भाँड्नका लागि देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।

विश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानूनहरुको संगालोको सार्वजनिकीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको एकता नेपाली कांग्रेसलाई अपच भएको बताए ।

विश्रामपुर गाउँपालिकालाई एक नमूना गाउँपालिकाका रुपमा विकास गर्नका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता पूर्वप्रधानमन्त्री दाहालले व्यक्त गरे । एक अर्को प्रसंगमा उनले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि चाँडै शुरुआत हुने जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष अमिरीलाल पालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अच्युत मैनाली, प्रदेश सदस्य ज्वालाकुमारी साह, महमद समिर र सुन्दर विश्वकर्मा, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललगायतले आआफ्नो विचार व्यक्त गरेका थिए ।

यसैबीच अध्यक्ष दाहालले कलैया उपमहानगरपालिका वडा नं २३ अन्तर्गतको मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको बाटो कालोपत्रे गर्नका लागि शिलान्यास गरेका छन् ।

शहरी विकास मन्त्रालयको सहयोगमा सो सडक कालोपत्रे हुनेछ । सडकको नाम प्रचण्डपथ रहनेछ । करीब ९ किलोमिटरको सो सडक निर्माणका लागि रु ४८ करोड ९३ लाख ३८ हजार लाग्ने भएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री