उपत्यकामा बन्दैंछ १ हजार ३०९ मिटर लामो भूमिगत विद्युत् प्रसारण लाइन

काठमाडौँ-नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ । तर काठमाडौँ उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ । त्रिशूली–काठमाडौँ २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौँको मातातीर्थमा एक हजार ३०९ मिटर क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ ।

सो प्रसारण लाइनको हाल ६३० मिटरको निर्माण काम (४८ प्रतिशत)  सकिएको छ । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । स्थानीय बासिन्दालाई असर नपर्ने गरी निर्माण भइरहेको यो नेपालको प्रसारण लाइन निर्माणको इतिहासमा पहिलो भूमिगत प्रसारण लाइन भएको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरे । स्थलगत निरीक्षणका क्रममा मन्त्री पुनले बाँकी रहेको काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र निर्माण व्यवसायीलाई निर्देशन दिए।

त्रिशूली करिडोरमा उत्पादित विद्युत् प्रवाह गर्ने मुख्य तथा महत्त्वपूर्ण लाइन भएकाले तोकेको समयभित्र पूरा गर्न मन्त्री पुनले विशेष चासोका साथ पहल गरेका हुन्। ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिन माग गरेको थियो ।

यस्तै वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र निर्माण सक्ने प्रतिबद्धता जनाइएको छ । भूमिगत प्रसारण लाइन निर्माणका लागि हाल २७० कामदार परिचालित छन् । रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

“स्थानीय बासिन्दाले उठाएको समस्या हामी मिलाउँछौँ, गृहमन्त्री रामबहादुर थापासँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौँ, रुख कटानमा रहेको समस्या समाधान गर्छौं”, मन्त्री पुनले भने, “सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सकिनु पर्दछ ।”

केही समय पहिले मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्ने ६८२ वटा रुख काटन स्वीकृति दिएको थियो । उत्पादित विद्युत् खेर जान नदिन समयमै प्रसारण लाइन पूरा हुनुपर्ने मन्त्री पुनले बताए ।

अहिले प्रसारण लाइनको मार्ग केही परिवर्तन हुँदा काट्नुपर्ने रुखको संख्या घटेर ३३६ वटा पुगेको छ । रुख कटानको स्वीकृतिका लागि अनुरोधसहितको पत्र वन विभागका पुगेको छ । रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुनः पेश गर्नुपरेको आयोजनाले जनाएको छ । काट्नुपर्ने रुखमा टाँचा लगाइसकिएको छ ।

भूमिगत लाइनका लागि सडक खनिएकाले बर्खाको समयमा हिलो भएकाले स्थानीय बासिन्दाले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोहीअनुसार गर्न निर्देशन दिएका छन् ।

उक्त प्रसारण लाइन तत्कालका लागि नुवाकोटमा निर्माण भइरहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ए को विद्युत् काठमाडौँ ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशूली एको निर्माण आगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ । त्यसकारण पनि प्रसारण लाइन सोही समयभित्रै निर्माण गर्नुपर्ने दबाव परेको छ ।

कूल ४५ किलोमिटर लामो प्रसारण लाइनको १४० वटा टावरमध्ये १२७ को जग हालिसकिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिए । भौतिक निर्माण दुई महिनाभित्र पूरा भए तार केही समयपछि तान्न सकिने उनको भनाइ छ ।

सो प्रसारण लाइन आगामी दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री