राज्यमन्त्री शर्मा र नगरप्रमुख मिश्रलाई गिरफ्तार गर्न अदालतको पत्र

धनुषा-उच्च अदालत जनकपुरले असई थमन विकका हत्या आरोपी प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र (शंकर शाही) लाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेशको फैसलासहित पत्र काटेको छ ।

उच्च अदालतका रजिस्टार मानबहादुर कार्कीले फरार सबै आरोपीलाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालय प्रमुखको नाममा फैसलासहित पक्राउ गर्न पत्राचार गरिएको बताए । साउन १७ गते उच्च अदालतले हुलाकमार्फत पठाएको गिरफ्तार गर्ने पत्र जिल्ला प्रहरी कार्यालयले साउन १८ गते दिउँसोसम्म प्राप्त गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले उच्च अदालतको पत्र प्राप्त नभइसकेको बताए । “पत्र प्राप्त भएपछि अध्ययन गरेर आदेश कार्यान्वयन गरिन्छ,” उनले भने, “कानूनअनुसार कारवाही अगाडि बढ्नेछ ।”

प्रहरी उपरीक्षक कडायतको भने सरुवा भएको छ । उनको ठाउँमा प्रहरी उपरीक्षक ईश्वर कार्की आउने भएका छन् । उच्च अदालत जनकपुरका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले असई विकको हत्या आरोपीलाई अविलम्ब गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र त्यसका प्रमुखको नाममा परमादेश जारी गरेका थिए ।

परमादेशमा आरोपीलाई गिरफ्तार गर्न जिल्ला अदालत महोत्तरीको आदेश अटेरी गरेका महोत्तरी प्रहरीलाई उच्च अदालतले ‘कानूनको धज्जी नउडाउन’ समेत सचेत गराएको छ ।

सशस्त्र प्रहरीका असई विकको हत्या आरोप लागेका अभिराम शर्मा प्रदेश २ को समाजिक विकास राज्यमन्त्री हुन् भने अर्का आरोपी रामशंकर मिश्र (शंकर शाही) जलेश्वर नगरपालिकाका निर्वाचित प्रमुख हुन् ।

राज्यमन्त्री शर्मा र प्रमुख मिश्र राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका हुन् । महोत्तरी निर्वाचन क्षेत्र नं ४ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कौशल राय पनि विक हत्याका आरोपी हुन् । राय संघीय समाजवादी फोरमका नेता हुन् ।

मधेश आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई विकको २०७२ साल भदौ २५ गते हत्या गरिएको थियो ।

आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर महोत्तरीको सनउखरा भन्ने ठाउँमा हत्या गरिएको थियो ।

विक हत्याका २८ जना आरोपीमध्ये महोत्तरीका सञ्जय साह र प्रदीप साह पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् भने अर्का आरोपी मोहन ठाकुर तारेखमा छन् । असई विकको हत्यामा संलग्न २८ जनाको नामै किटेर उनका दाजु प्रेमबहादुर विकले २०७२ असोज १ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा जाहेरी दिएका थिए ।

त्यही जाहेरीका आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ साल फागुन २७ गते बयानका लागि इजलाससमक्ष पेश गर्न र फरार रहेका प्रतिवादीको हकमा वारेन्टको ७० दिने म्यादी पुर्जी जारी गरेको थियो ।

फरार आरोपीलाई गिरफ्तार गर्न वारेन्ट जारी गरेको ७० दिनसम्म पनि महोत्तरी प्रहरीले आलटाल गरेपछि असई विककी श्रीमती शोभा गहतराजले २०७४ साल चैत २८ गते परमादेशका लागि उच्च अदालत, जनकपुरमा रिट दायर गरेकी थिइन् । उनको रिटमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालयका प्रमुखलाई विपक्षी बनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री