कांग्रेसले सुनुवाइ समितिलाई संविधानसम्मत काम गर्न नदिएको ओलीको आरोप

ललितपुर-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले प्रधानन्यायाधीश सुनुवाइमा सुनुवाइ समितिलाई संविधानसम्मत काम गर्न नदिएको बताएका छन् ।  तुलसीलाल स्मृति प्रतिष्ठानले बिहीबार ललितपुरमा आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ कार्यक्रममा उनले संवैधानिक परिषद्ले प्रस्ताव गरेको नाममा विभिन्न उजुरी वा निवेदनमा सम्बन्धित व्यक्तिले सफाइ दिने व्यवस्था भएको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले भने, “समितिलाई काम गर्न नदिएर बोल्ने/बोलाउने र लेख्ने/लेखाउने काम भइरहेको छ ।” जनताले निर्वाचनमार्फत चुनेका जनप्रतिनिधिले संसद्मा खुला छलफल गर्न नपाएको भन्दै उनले थपे, “संविधानअनुसार पनि संसद्मा नै छलफल गरेर निर्णय हुनुपर्छ ।”

अोलीले संसद्को निर्णयभन्दा पनि अरुले गरेको निर्णय मान्नु गलत भएको औँल्याए । संसद्को आदेश नमान्ने भए एक जना प्रधानमन्त्री र एक जना प्रतिपक्षी दलका संसदीय दलका नेता भए पुग्ने भन्दै प्रधानमन्त्री ओलीले संसद्मा सबैले खुला छलफल भएर आफ्नो काम गर्न पाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले प्रतिपक्षले सरकारलाई आरोप-प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले प्रतिपक्षले आफ्नो भूमिका निर्बाह गर्न छाडेर सरकारलाई आरोप लगाउन उद्धत भएको आरोप समेत लगाए ।

नेपालमा लोकतन्त्रले सीमा नाघेर अनियन्त्रित क्रियाकलाप हुँदै गएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “लोकतन्त्र अनियन्त्रित हुँदै जाँदा अराजकता बढ्दै जान्छ ।” उनले सरकारमाथि अकारण हमला भइरहेको उल्लेख गरे ।

तुलसीलाललगायत स्थापनाकालका नेताका कारण वामपन्थी आन्दोलनले उचाइमा पुगेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले  उनको त्याग, तपस्या र अनवरत बलिदान र संघर्षले आन्दोलनलाई जीवित बनाएको बताए ।  पहिलो पुस्ताका नेताहरुबाट आफूहरुले पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, “पहिलो पुस्ता जीवित हुँदा एकले अर्कोलाई नमान्ने प्रवृत्ति थियो, अहिले त्यो हटेर परिपक्व वामपन्थी आन्दोलनको अवस्था सिर्जना हुँदै गएको छ ।”

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी शक्तिले हमला र घेराबन्दी नरोकेको बताए । वामपन्थी शक्तिको एकता सिंगो विश्वका लागि असाधारण घटना भएको उल्लेख गर्दै उनले भने, “यो पहलकदमी विश्वव्यापी महत्वको घटना हो र सबैले ध्यानपूर्वक हामीलाई हेरिरहेका छन् ।” विश्वभरका श्रमजीवी र वामपन्थीले अहिले नेपाललाई नियालेको उनले औँल्याए ।

अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टीको पछाडि लागेको पुच्छर लामो समयपछि हट्नु र झण्डै दुई तिहाइ बहुमतको वामपन्थी सरकार सबैको चासोको विषय बनेको बताए । पार्टीले तल्ला तहका कमिटीलाई एकता गर्न परिपत्र गरेको जानकारी दिँदै  उनले भने, “अहिलेसम्म केन्द्रमा मात्रै एकता भएकोमा आगामी दिनमा तल्ला कमिटीसम्म एकता हुनेछ ।”

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कमी कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “अहिले नयाँ खालको समाजवाद विकास गर्नै खाँचो छ । अग्रज वामपन्थी नेताबाट प्रेरणा लिएर अघि बढ्नुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री