काठमान्डौ-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा मंगलबार आयोजित कार्यक्रममा कांग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वोचता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भने, “संसद्ले कानून बनाउँछ, कांग्रेस मान्न तयार छ कि छैन ? संवैधानिक बाटो चुनावबाट सरकारलाई अपदस्थ गर्न सकिन्छ, म लोकतान्त्रिक विधि र प्रक्रियामा आउन कांग्रेसलाई चुनौती दिन्छु । संघर्षको मैदान हामीले पनि देखेका छौँ । अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य छ र त्यसलाई नियन्त्रण गरिनेछ ।”
प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु मिलेको र स्थिर सरकार बनेकामा प्रतिक्रियावादीहरुलाई सही नसक्नुभएको बताए । उनले भने, “कांग्रेस यति चाँडो वस्त्र उतारेर मैदानमा उत्रिएको छ । हिजो हाम्राविरुद्ध टाउकाको मूल्य तोकेको होइन ? झोलामा टाउको ल्याउनु भनेको वा सर्वस्वसहित जन्मकैद तोकिएका मान्छे शासन गरिरहेका छन्, अनि उनीहरुलाई चित्त बुझ्छ ?”
उनले कांग्रेसले खोजेको लोकतान्त्रिक प्रणाली, मूल्य र मान्यतामा अझै प्रश्न रहेको आरोप लगाउँदै सामन्ती राजतन्त्रमा फर्केर आउन सक्ने विचार पनि कांग्रेसमा रहनु प्रतिगमनकारी विचार भएको र आफूहरु राजतन्त्रको पक्षमा नरहेको पुनः स्पष्ट गरे ।
प्रा डा गोविन्द केसीको अनशन र उनको मागमा कांग्रेस मिसिएको सन्दर्भमा उनले सबैको निःशुल्क स्वास्थ्योपचार र गुणस्तरीय शिक्षाका लागि नेकपाले पहल गर्दै आएको बताउँदै सबै समस्याको समाधान संवाद र संसद्बाट टुङ्गिने जनाए ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवाजस्तो अत्यावश्यक क्षेत्रमा कर्मचारीले हडताल गर्नु उचित नभएको बताउँदै प्रा डा केसीलाई सघन उपचार आवश्यक पर्ने भनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लिखित सुझाव आएकाले उनलाई काठमाडौँ ल्याइएको स्पष्ट गरे ।
“सरकारले केसीको उपचार गर्न नपाउने ? उहाँको नाममा अरुले राजनीतिको रोटी सेक्ने, बाटो छेक्ने ? यो हुन सक्दैन”, उनले भने । प्रधानमन्त्री ओलीले आफूले देश र जनताप्रति निष्ठापूर्ण कामका लागि दैनिक शपथ लिएर काम गरिरहेको पनि स्पष्ट गरे ।
प्रतिक्रान्तिसँगको लडाइँ जारी छ – दाहाल
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताए । “हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ । प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ । प्रतिक्रियावादीहरुलाई कम्युनिष्ट एकता र स्थिर सरकार मन परेको छैन तर हामी त्यस्ता षड्यन्त्रलाई सफल हुन दिने छैनौँ ,” उनले भने ।
दाहालले भए-नभएका कथाहरु बनाएर सरकार र नेकपाको विरोधमा भ्रम छर्ने काम भएकाले क्रान्तिलाई सफल बनाउन र स्थिर सरकारविरुद्ध सबै हतियार प्रयोग गरेर भइरहेका नियोजित षड्यन्त्र चिर्न आह्वान गरे ।
प्रा डा केसीको अनशनको नाममा सरकारलाई टिक्नै नदिने वितण्डा मच्चाउन खोजिएको छ भन्दै उनले पार्टी र सरकारको कामलाई समृद्धिको दिशातर्फ एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता