डा केसीका पक्षलाई निःशर्त वार्तामा आउन आह्वान, रयालीमा प्रहरी हस्तक्षेप

अनशनरत डा. गोविन्द केसीको मागको समर्थनमा काठमाडौँको वानेश्वरमा शनिबार सोलडारिटी फर डा. केसी अलायन्सको आयोजनामा निकालिएको रयालीमा विभिन्न राजनीतिक दलका नेता, आधिकारर्मीसहित समर्थकहरु । तस्बिर -रोशन सापकोटा, रासस

काठमाडौँ, ५ साउन – सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ ।

वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आज विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गर्नुभएको हो । उहाँले डा केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताउनुभयो ।

संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा केसीलाई काठमाडौँ नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताउनुभयो ।

सरकारले असार ३२ गते शिक्षा सचिव बरालको संयोजकत्वमा डा केसीका पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो ।

यसबीचमा वार्ता टोलीले तीन पटक डा केसीका पक्षसँग वार्ता गरिसकेको छ । विज्ञप्तिमा वार्ताबाट छिटो समाधान ननिस्कने देखेर नै डा केसीको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन सरकारले उहाँलाई जुम्लाबाट काठमाडौँ ल्याई अभिभावकत्वको भूमिका निर्वाह गरेकोसमेत उल्लेख गरिएको छ ।

तरुण दलकोयालीमा प्रहरी हस्तक्षेप, काँग्रेसद्वारा भत्र्सना

डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको शान्तिपूर्ण रयालीमा प्रहरीले हस्तक्षेप गर्दा चार दर्जनभन्दा बढी घाइते भएका छन् ।

घाइतेको निजामती र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । निजामती अस्पतालमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प शाहीलगायत तीन दर्जनभन्दा बढीको उपचार भइरहेको छ ।

कान्तिपुर अस्पतालमा पूर्वमन्त्री एवं दलका पूर्वअध्यक्ष महेन्द्र यादवलगायत एक दर्जनभन्दा बढीको उपचार भइरहेको छ । अध्यक्ष बस्नेतको टाउको र पाखुरामा चोट लागेको छ ।

दलले माइतीघर मण्डलाबाट निकालेको जुलुश बिजुली बजार हुँदै नयाँ बानेश्वर पुग्न लाग्दा प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठी चार्ज गरेको थियो । अश्रुग्यास र लाठी चार्ज गरेको स्थानभन्दा माथि नागरिक अगुवाको समूहले कोणसभा गरिरहेको थियो । प्रहरी हस्तक्षेपपछि सभामा सहभागीसमेत प्रभावित भएका थिए ।

जुलुशमा सहभागीले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित आयोगले स्वास्थ्य शिक्षा सुधारका लागि दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको अध्यादेशकै भावना अनुरुप कानून मस्यौदा गरी संसद्मा पेश हुनुपर्ने लगायत माग गरेको थियो ।

कार्यक्रमको समाचार संकलनका लागि खटिनुभएका प्रेस युनियनका महासचिव शिवाकोटी प्रहरीको लाठीले घाइते हुनुभएकामा युनियनले घोर भत्र्सना गरेको छ । अध्यक्ष बद्री सिग्देलले आज जारी गर्नुभएको विज्ञप्तिमा स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउने अधिकारमाथि प्रहरीले हस्तक्षेप गरेको उल्लेख छ ।

काँग्रेसद्वारा दुःख व्यक्त 

यसैबीच, नेपाली काँग्रेसले नेपाल तरुण दलले नयाँ बानेश्वरमा निकालेको शान्तिपूर्ण जुलुसमाथि भएको प्रहरी हस्तक्षेपबारे दुःख व्यक्त गरेको छ ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक आक्रमण भएको भन्दै निन्दा गर्नुभएको छ ।

काँग्रेसले आन्दोलनका क्रममा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत चार दर्जनभन्दा बढी घाइते भएको भन्दै दुःख व्यक्त गरेको छ ।

यसैबीच, आन्दोलनका क्रममा घाइते हुनुभएका नेता तथा कार्यकर्तालाई सभापति शेरबहादुर देउवा एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्पताल नै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

काँग्रेसले आफ्नो सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान भएको जनाएको छ । अनशनको तेस्रो साता पूरा भइसक्दा पनि वार्तामार्फत समाधान खोज्ने र उहाँको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनु दुःखद कुरा भएको बताएको छ ।

चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा निरन्तर आन्दोलन गर्ने काँग्रेसले बताएको छ ।

आइतबारबाट डा केसी समर्थकले सामूहिक सत्याग्रह गर्ने

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् ।

आज डा केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो ।

दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताउनुभयो ।

प्रर्दशनीमा राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा केसीले उठाएका विषय सम्पूर्ण नेपालीका भएकाले छिटोभन्दा छिटो उहाँको माग पूरा गर्नुपर्ने बताउनुभयो ।

अधिकारकर्मी कृष्ण पहाडीले सरकारले जतिसक्दो छिटो माग सम्बोधन गरी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

डा केसीको समर्थनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, लेखक खगेन्द्र संग्रौला, बलिउड अभिनेत्री मनिषा कोइरालालगायत पनि उपस्थित हुनुहुन्थ्यो ।

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनशन शुरु गर्नुभएको थियो ।

स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै सरकारले गत बिहीबार हेलिकप्टरबाट डा केसीलाई काठमाडौँ ल्याएको थियो । हाल उहाँ शिक्षण अस्पतालमा २२ औँ दिनको अनशनमा हुनुहुन्छ । यो उहाँको १५ औँ पटकको अनशन हो ।

जुम्लाबाट काठमाडौँ आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गर्नुभएको छ ।

यता डा केसीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै गएको बताइएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री