२० दिनदेखि जुम्लामा अनसनरत डा. केसीलाई सैनिक हेलिकप्टरबाट काठमाडौं ल्याइयो

जुम्लामा अनशन बस्नुभएका प्रा डा गोविन्द केसीलाई बिहीबार काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याईंदै । तस्वीर- रोशन सापकोटा/रासस

काठमाडौं-चिकित्सा शिक्षा सुधारको माग लिएर २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । बिहीबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौं ल्याइएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनलाई अहिले शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ ।  सेनाको हेलिकप्टरबाट टुडिखेलमा उत्रे लगतै उनलाई एम्बुलेन्समा राखेर शिक्षण अस्पताल लगिएको थियो । अहिले प्रा डा केसीलाई त्रिवि शिक्षण अस्पतालको नाक, कान घाँटी वार्डमा राखिएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनलाई ल्याउनका लागि सरकारले बिहीबार विहानै जुम्लामा नेपाली सेनाको हेलिकप्टर पठाइएको थियो । तर, केही समय डा. केसीले आफू काठमाडौं नजाने अडान लिएका थिए ।

डा. केसीलाई काठमाडौं ल्याउने कामको सहजीकरणका लागि प्रदेश नं. ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली पनि जुम्ला पुगेको थियो । डा. केसीले काठमाडौं आउन नमानेपछि उनलाई जबरजस्ती काठमाडौं ल्याउने प्रयास भएपछि डा. केसीका समर्थक र प्रहरीबीच जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालभित्रै झड्प भएको थियो ।

झड्पका क्रममा एक जना प्रहरी गम्भीर घाइते भएका छन् भने अन्य केही डा. केसी समर्थकहरु पनि घाइते भएको बताइएको छ ।

जुम्लामा प्रहरी हस्तक्षेप भएर तनाव उत्पन्न भएपछि र आफ्ना समर्थकहरु कुटिएपछि डा. केसी काठमाडौं आउन तयार भएका थिए ।

सरकारले केसीसँग वार्ताका लागि टोली समेत गठन गरिसकेको छ । तर, सरकारले वार्ताका लागि केसी काठमाडौं आउनुपर्ने अडान अगाडि सारेको थियो ।

डा. केसी काठमाडौं आएसँगै अब बाँकी प्रक्रिया कसरी अगाडि बढ्छ अहिले नै भन्न सकिने अवस्था छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री