सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: ०९:१३ | UK Time: 04:28

राजपा संसदीय दलको नेतामा ठाकुर, संसद्मा प्रभावकारी भूमिका खेल्ने

वीनेपाली
२०७५ असार ३० गते १७:४२

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सर्वसम्मत चयनपछि राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायतका नेताहरु शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा तस्बिर खिचाउँदै । तस्बिर- सिवी अधिकारी, रासस

काठमाडौँ-राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । राजपा संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रस्ताव तथा सबै नेताको समर्थनमा ठाकुर दलको नेतामा चयन भएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । “राजपाले एकसाताअघि आज निर्वाचन हुने मिति घोषणा गरेदेखि नै पार्टीको नेता को हुने, कुन विधिबाट हुने, पार्टीमा विवाद छ भन्ने बाहिर हल्ला फिँजाइएको थियो त्यो सबलाई चिर्दै सर्वसम्मतरुपमा निर्णयमा पुग्न सफल भएको छ । राजपा आज पनि मुद्दाप्रति इमान्दारीपूर्वक कुनै प्रकारको मत मतान्तर छैन भन्ने कुरा आजको निर्णयले प्रमाणित गरेको छ”, नेता यादवले भने ।

यस्तै, राजपा नेपालले संघीय संसद्को दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने भएको छ । राजपा संसदीय दलको बैठकले संसद्मा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुने निर्णय गरेको हो ।

बैठकले संसद्मा उठेका विषयमा गुण र दोषका आधारमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । उनका अनुसार नवनिर्वाचित दलका नेता ठाकुरले वर्तमान समसामयिक परिस्थितिबारे बैठकमा धारणा राख्दै राजपाले जनताको अपेक्षाअनुरुप काम गर्नुपर्ने भएकाले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

राजपालाई मधेश केन्द्रित दलका रुपमा चित्रण गरिने गरेकामा आपत्ति जनाउँदै नेता ठाकुरले राजपा देशका सम्पूर्ण उत्पीडनमा परेका जनताको भावनालाई एकाकार गर्दै अनवरतरुपमा अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । सरकारलाई समर्थन गरेको राजपाले सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अझै निर्णयमा पुग्न सकेको छैन । संविधान संशोधन विषयको स्पष्टतापछि मात्रै राजपाले निर्णय लिने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक