बुधबार, मंसिर १० २०७७ | Wed, November 25, 2020
नेपालको समय: ०८:२० | UK Time: 02:35

काठमाडौं उपत्यकाको तापक्रम एक्कासी वृद्धि, अबको तीन दिन वर्षा हुने

सिवी अधिकारी/रासस
२०७५ असार २३ गते १७:४७

तस्वीर-THT

काठमाडौँ-काठमाडौं उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासी वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार शनिबार काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको अधिकतम तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम तापक्रम २० डिग्री पुगेको थियो । असार १७ गते काठमाडौँको अधिकतम तापक्रम २७ डिग्री थियो भने असार १४ र १५ गते ३० डिग्रीको हाराहारीमा तापक्रम कायम थियो ।

जेठ दोस्रो साता काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । मनसुन पूर्ण रूपमा सक्रिय भएसँगै गत असार १७ देखि देशैभर मध्यमदेखि भारी वर्षा भएको थियो । मनसुन न्यून चापीय रेखा नेपालमा प्रवेश गरेकाले छ दिनसम्म निरन्तर वर्षा भएको हो । मनसुन याम खासगरी जुलाई र अगष्ठ महिनामा यस्तो मनसुनी गतिविधि केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम र साँझपख हल्का वर्षा चलिरहने मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।

अर्यालले भने, “मनसुन न्यून चापीय रेखा माथितिर (नेपालको भू–भागमा) प्रवेश गर्दा मनसुन सक्रिय भई वर्षा हुने तथा मनसुन न्यून चापीय रेखा दक्षिणततर्फ (भारतको भू–भागमा) जाँदा मनसुन ब्रेक अर्थात कम वर्षा र बढी घाम लाग्ने हुन्छ ।” मौसमविद्को भाषामा यसलाई ‘मनसुन ब्रेक र मनसुन एक्टिभ’ पनि भनिन्छ । यद्यपि, पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण वर्षा हुने विविधता ‘रेनफल भेरिविलिटी’ मा केही फरकपन आउने गरेको मौसमविद् अर्यालको भनाइ छ ।

गत असार १४ गतेदेखि मनसुन देशैभर फैलिएको महाशाखाले घोषणा गरेको थियो । यस वर्षको मनसुन यही जेठ २५ (जुन ८) बाट नेपालमा प्रवेश गरेको महाशाखाले घोषणा गरेको थियो । सामान्यत नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्मलाई मनसुनको अवधि मानिन्छ ।

महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित पूर्व र पश्चिमी भेगमा बदली रहेको छ भने साँझतिर वर्षा हुने सम्भावना छ ।  आज दिपायलको ३७, नेपालगञ्जको ३६ दशमलव ९ र धनगढीको ३५ दशमलव ९ डिग्री अधिकतम तापक्रम पुगेको महाशाखाले जनाएको छ ।

तीन दिन बदली र वर्षा

आगामी तीन दिनसम्म देशैभर बदली तथा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो ।

शनिबार दिउँसो देशका पूर्वी र पश्चिम क्षेत्रका भू–भागमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र मध्य क्षेत्रका भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ । साँझ देशभरिनै सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

यस्तै, भोलि आइतबार दिउँसो देशभरिनै सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । साँझ पनि देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने देशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आगामी असार २५ गते सोमबार दिउँसो देशभरिनै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ, भने पूर्वी तथा मध्ये क्षेत्रको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोही दिन साँझ पनि देशभरिनै बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने तथा देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक