विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाइने

धनगढी-प्रदेश नं ७, विपद् व्यवस्थापन समितिको बैठकले वर्षायाममा बाढी, डुबान र पहिरोजस्ता प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी कार्य प्रभावकारी बनाउने निर्णय गरेको छ । मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन समितिको आज यहाँ बसेको बैठकमा विपद्को अघि, पछि र विपद्को समयमा गर्नुपर्ने तयारीका सम्बन्धमा विस्तृत रुपमा छलफल भई विभिन्न निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकले पूर्वतयारी स्वरुप जोखिममा पर्न सक्ने समुदायलाई सचेत गराउने, विपद्को बेला आवश्यक पर्ने सामग्रीसहित खोज र उद्धार टोली तयारी अवस्थामा राख्ने, उद्धारमा खटिनेको क्षमता अभिवृद्धि गर्ने, प्रकृतिक प्रकोपबाट प्रभावितका लागि चाहिने खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको भण्डारण गर्ने निर्णय गरेको छ ।

यसैगरी मातहतका निकायलाई आपतकालीन उद्दार तथा खोजका तयारी अवस्थामा राख्ने, आकस्मिक उपचारको भरपर्दो व्यवस्था मिलाउने, बाढी, डुबानको पूर्वसूचना दिनका लागि नदी, खोलामा जडान गरिएका उपकरण अद्यावधिक गर्ने, विपद् व्यवस्थापनको क्षेत्रीय भण्डारणलाई प्रदेश सरकार मातहत ल्याउने, अविरल वर्षापछि आएको बाढी, पहिरोका कारण प्रदेशका विभिन्न जिल्लामा भएको मानवीय र भौतिक क्षतिबाट पीडितलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट सहयोग गर्ने निर्णय बैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बीसनसिंह थापाले जानकारी दिए ।

बैठकले विपद्का बेला राहत र उद्धारका लागि हेलिकप्टरको आवश्यकता पर्न सक्ने महसुश गरी बैठकले प्राविधिक रुपमा उपयुक्त रहेको स्थानमा एक हेलिप्याड निर्माण गर्न प्रदेशका सबै स्थानीय तहलाई अनुरोध गर्ने, विपद्को सावधानीका लागि समुदायलाई सचेत गराउनका साथै जोखिमयुक्त क्षेत्र तथा विपद्का बेला बस्न खुला र सुरक्षित स्थानको पहिचान, प्रदेशको विपद् पूर्वतयारी तथा प्रतिकार्य रणनीति एवं कार्ययोजना तर्जुमा गर्ने, नदी कटानको जोखिम भएका स्थानमा तटबन्ध निर्माणका लागि सम्बद्ध निकायलाई निर्देशन दिने, प्रदेशस्तरीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाको पहल गर्नेलगायतका निर्णयसमेत गरिएको छ ।

दुईदिन यता भएको अविरल वर्षासँगै प्रदेश नं ७ को कैलालीलगायत जिल्लामा भएको प्राकृतिक विपद्का कारण एक जनाको ज्यान गएको छ भने सयौँ परिवार प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री